चित्र मिजार
सिन्धुपाल्चोक, साउन १३ गते । सिन्धुपाल्चोकमा सञ्चालन भइरहेका क्रसर उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरी बालुवा, गिट्टीलगायतका नदीजन्य पदार्थ सङ्कलन गरेको पाइएको छ। जिल्ला समन्वय समितिले शुक्रबार गरेको अनुगमनमा यस्तो पाइएको हो।
सिन्धुपाल्चोकमा केही क्रसर उद्योग बन्द भएका छन् भने केहीलाई बाढीले क्षति गरेपछि सञ्चालन हुन सकेका छैनन्। काभे्र रोडा ढुङ्गा प्रालि, मेलम्ची ए क्रोन क्रसर उद्योग, जालपा इन्फास्ट्रक्चर प्रालि, सोना क्रसर उद्योगलगायतका अधिकांश क्रसर उद्योगले मापदण्ड मिचेर उत्खनन गरेका पदार्थ राख्ने गरेका पाइएको हो।
जिसस प्रमुख बालकृष्ण श्रेष्ठले जिल्लाका अधिकांश क्रसर उद्योगले सार्वजनिक जग्गामा नदीजन्य पदार्थ राखेर मापदण्ड उल्लङ्घन गरेको भेटिएको जानकारी दिनुभयो। उहाँले सार्वजनिक जग्गामा राखिएका नदीजन्य पदार्थ तत्काल हटाउन क्रसर उद्योगहरूलाई निर्देशन दिनुभएको छ।
सिन्धुपाल्चोकमा ३९ वटा क्रसर उद्योग रहेकामा ३७ वटा सञ्चालनमा छन्। यीमध्ये १७ क्रसर उद्योगले मात्र जिससमा क्रसर सञ्चालन गरिएको कागजात पेस गरेका छन्। अन्य क्रसर जिससको सम्पर्कमा नआएको प्रमुख श्रेष्ठले बताउनुभयो।
सिन्धुपाल्चोकमा रहेका क्रसर उद्योगमध्ये नौ वटा मात्रै मापदण्डबमोजिम सञ्चालन भएको जिसस प्रमुख श्रेष्ठले बताउनुभयो। मापदण्डबमोजिम क्रसर उद्योग सडक, बस्ती, खोला, वन, हाइटेन्सन लाइनभन्दा पाँच सय मिटर टाढा सञ्चालन गरिनु पर्छ। अधिकांश क्रसर उद्योगले भने यो मापदण्डलाई बेवास्ता गरेको पाइएको छ।
क्रसर व्यवसायी सङ्घका जिल्ला अध्यक्ष कृष्णगोपाल तामाङले स्थानीय सरकारलाई बालबिरौटी कर बुझाएपछि सार्वजनिक जग्गामा नदीजन्य पदार्थ राख्दा, सङ्कलन गर्दा मापदण्डविपरीत नहुने बताउनुभयो।
केही क्रसर उद्योगले अहिलेसम्म स्थानीय सरकारलाई कर नबुझाई सार्वजनिक जग्गा अतिक्रमण गरी स्टोर गरेको जिससको दाबी छ। क्रसर उद्योगले त्यस्तो कर बुझाएको अहिलेसम्म प्रमाण नआएको जिससले जनाएको छ।
बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका कुनै पनि क्रसर उद्योगले बालबिरौटी कर नबुझाई सञ्चालन भइरहेको जानकारी दिनुभयो।