वसन्त पराजुली
सौराहा, साउन १३ गते । कर्मचारीको जस्तै हात्तीको पनि दरबन्दी व्यवस्था गरिन्छ भन्ने सुन्दा अनौठो लाग्न सक्ला। तर हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा जन्मिई तालिम लिएका चार वटा हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जका विभिन्न पोस्टमा पोस्टिङ गरिएको छ। शनिगजलाई सौराहा हात्तीसारमा, खगेन्द्रगज र गोपालगजलाई निकुञ्जको मुख्यालय कसरामा र सिमसारगजलाई खोरिया मुहान पोस्टमा दरबन्दी कायम गर्दै पोस्टिङ गरिएको हो।
प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरी हात्तीको पनि मानिसकै जस्तै दरबन्दी हुने र सोही दरबन्दीअनुसार नयाँ तालिम दिएकालाई पोस्टिङ गरिएको जानकारी दिनुभयो। यसरी गरिने दरबन्दी वन मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयसँग राय लिएर सामान्य प्रशासन मन्त्रालयले गर्ने गर्छ। निजामती कर्मचारी प्रशासनको दरबन्दी पनि सामान्य प्रशासन मन्त्रालयले गर्छ।
“देशभरिका निकुञ्ज र संरक्षित क्षेत्रमा सुरक्षा गस्ती गर्न हात्ती चाहिन्छ। यो जति भए पनि अपुगै हुन्छ,” प्रमुख चौधरीले थप्नुभयो, “चितवन निकुञ्जको सवालमा त अझै गस्ती मात्रै होइन, गैँडा समात्न वा बाघ समात्न परे पनि हात्ती नै चाहिन्छ।”
अहिले तालिम केन्द्रमा तालिम गर्न बाँकी सात वटा हात्तीका बच्चा छन् भने ४९ वटा तालिम सकेर विभिन्न पोस्टमा खटाइएको छ।
चितवनबाहेक पर्सा राष्ट्रिय निकुञ्जमा १० वटा, कोशी वन्यजन्तु आरक्षमा १० वटा, बाँकेमा १० वटा र शुक्लाफाँटामा १० वटा हात्तीको दरबन्दी छ। जसमध्ये कोशीमा थप छ र शुक्लाफाँटामा थप एउटा हात्ती छ। दरबन्दी भएका एउटा हात्तीलाई तीन जना सरसफाइ गर्ने माउते, घाँस काट्ने, चराउने पछुवा र हात्ती चलाउने फनेत दरबन्दीका कर्मचारी कार्यरत हुनुपर्ने व्यवस्था छ।
चितवन राष्ट्रिय निकुञ्जमा अहिले ५० वटा हात्तीका दरबन्दी छन्। तर हात्ती नयाँ नयाँ जन्मने क्रम जारी रहेकाले हात्तीको सङ्ख्या भने ५६ वटा रहेको निकुञ्जमा तथ्याङ्क छ। प्रजनन केन्द्रमा मात्रै सात वटा बच्चा र १२ माउ गरी १९ वटा हात्ती रहेको प्रजन केन्द्रले जनाएको छ।
प्रायः हात्तीलाई तीन वर्ष पुगेपछि तालिम दिइन्छ। गोपालगज, शनिगज, खगेन्द्रगज र सिमसारगजलाई साढे तीन वर्षमा तालिम दिइएको थियो। छावालाई पहिला त माउबाट छुट्याएर दुई वटा हात्तीले बाँधेर बिचमा राखी हिँड्न, बस्न, उठ्न सिकाइन्छ।
छावालाई झन्डै दुई महिनाको तालिमपछि मात्रै माउतेको इसारा बुझेर काम गर्न सक्ने बनाइन्छ। पोस्टमै खटाउन कम्तीमा पनि छ महिनाको तालिम लिनुपर्ने हुन्छ।
“अहिले पोस्टिङ भएका चार वटै हात्तीलाई कम्तीमा पनि छ महिना तालिम पूरा गरेर पठाइएको छ,” उहाँले भन्नुभयो। हात्तीलाई तालिम दिँदा वनदेवी र खवारीको पूजा गर्ने तथा पशुपक्षी बलि दिने पनि प्रचलन तालिम केन्द्रमा छ। हात्तीलाई तालिम दिने माउते र सुसारेहरू अधिकांश थारू समुदायको भएका कारण पनि उसलाई तालिम क्रममा थारू भाषा नै बढी प्रयोग गरेर सिकाइन्छ।
गत वर्ष पाँच वटा हात्तीलाई तालिम दिएर कामकाजका लागि पठाइएको थियो। प्रजनन केन्द्रमा रहेको तथ्याङ्क अनुसार हात्ती प्रजनन केन्द्र स्थापना भए यहाँ जन्मिएका ३४ भाले र २१ पोथीमध्ये सात वटाको मृत्यु भएको छ। पछिल्लो पटक गत चैत २३ गते विजयगजको मृत्यु भएको थियो। फागुन २४ गते निकुञ्जमा शल्यक्रिया गरेर जन्माइएको विजयगजको एक महिनामै मृत्यु भएको थियो।