काठमाडौँ, साउन ११ गते । कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गर्नु भएको छ । कार्यवाहक प्रधानमन्त्री खड्काले अस्पताल निरीक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका विभिन्न विभागमा पुगेर जानकारी लिनुभयो । यस्तै, सेवाग्राही तथा अस्पतालमा कार्यरत चिकित्सक , नर्स तथा अन्य कर्मचारीहरूसँग पनि छलफल गर्नुभयो ।
अस्पतालको स्थलगत निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितका उच्च सैनिक अधिकारीहरू पनि सहभागी हुनुभएको थियो । अस्पताल निरीक्षणका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले सीमित श्रोत साधन र भौतिक संरचनाका बाबजुद अस्पतालबाट सन्तोषजनक सेवा प्रभाव भइरहेको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले अस्पतालबाट एकीकृत रूपमा अझ बढी गुणस्तरीय सेवा दिन पनि आग्रह गर्नुभयो ।
उहाँले अस्पतालमा कार्यरत चिकित्सक, नर्सदेखि सबै कर्मचारीहरूले सेवा भावका साथ काम गरिरहनु भएको कुरालाई सरकारले उच्च सम्मानका साथ हरिरहेको भन्दै अस्पतालको नयाँ भौतिक संरचना निर्माण, स्वास्थ्यकर्मीदेखि कर्मचारीको समग्र वृत्ति विकासमा पनि सरकारले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहे जति सहयोग गर्न सक्ने अवस्था नभए पनि प्राथमिकताका आधारमा अस्पताललाई अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरीय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी पनि दिनुभयो ।
अस्पतालबाट अझै राम्रो स्वास्थ्य सेवा दिनका लागि सरकार र मन्त्रालयबाट कुनै नीतिगत सुधारको काम गर्नुपर्ने भए सरकार त्यसमा पनि सकारात्मक भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ थियो । उहाँले त्यसका लागि प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्ने पनि प्रस्ट पार्नुभयो ।
*यसअघि शीर्षकमा कार्यवाहक हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । –सम्पादक