• १६ वैशाख २०८१, आइतबार

मङ्सिरमा महासमिति बैठक गरौँ

महामन्त्री शर्माद्वारा बैठकमा सुझावसहितको प्रतिवेदन पेस

blog

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेस गर्नुहुँदै महामन्त्री विश्वप्रकाश शर्मा ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १० गते । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले साउन २ गतेदेखि सुरु भएको बैठकमा प्राप्त सुझावहरूसहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । 

सानेपास्थित बिपी स्मृति भवन, केन्द्रीय कार्यालयमा जारी बैठकमा उहाँले आज बैठकको अन्तिम दिन भएकाले लामो छलफल पश्चात् प्राप्त सुझावलाई संलग्न गरेर आवश्यकताअनुरूप कतिपय सुझावलाई केन्द्रीय कार्यालयले कार्यान्वयन गर्नेगरी सुझाव प्रस्तुत गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रीय कार्य समितिको यो बैठकको अन्तिम दिन हो । स्वदेश र विदेशबाट यो अवधिको छलफलबाट के कस्तो निर्णय गरेको छ भनेर चासो राखेर हेर्नुभएको छ । सबैमा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।” बैठकको अन्तिम दिन लामो छलफल पश्चात् प्राप्त सुझावलाई संलग्न गरेर आवश्यकताअनुसार कतिपय प्रस्तावलाई केन्द्रीय कार्यालयले कार्यान्वयन गर्नेगरी सुझाव प्रस्तुत भएको उहाँको भनाइ छ ।

राससका अनुसार, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ ।     

 सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राख्नुभयो ।     

महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको साटो महासमिति बैठक गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गरौँ ।” मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो ।   

केन्द्रीय सदस्य चित्रालेखा यादवले महिला नेत्रीले पार्टीमा दिएको योगदानको चर्चा गर्दै दिवङ्गत भइसक्नुभएका महिला नेत्रीहरूको योगदानलाई पार्टीले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।     

पार्टी केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, रामहरि खतिवडा र अर्जुननरसिंह केसीले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।