• २० असोज २०८१, आइतबार

साहित्य अभिलेखन ग्रन्थ प्रकाशन

blog

पशुपतिनगर समाचारदाता

पशुपतिनगर, साउन १० गते । कोशी प्रदेशको नेपाली साहित्यको अभिलेखन ग्रन्थ लोकार्पण गरिएको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका नेपाली साहित्य र साहित्यकारलगायतका बारेमा विस्तृत चर्चा एवं खोज गरिएको पुस्तकको सूर्योदय नगरपालिकामा एक कार्यक्रमबिच लोकार्पण गरिएको हो । कोशी प्रदेश सरकारको सहयोगमा गणेश रसिक फाउन्डेसनले प्रकाशन गरेको पुस्तक समग्रमा कोशी प्रदेशका नेपाली साहित्यका बारेमा एक विशेष दस्ताबेज नै भएको पुस्तकका प्रधान सम्पादक तथा साहित्यकार गणेश रसिकले जानकारी दिनुभयो । कोशी प्रदेशका पूर्वपर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले उक्त पुस्तकको लोकार्पण गर्नुभयो । उहाँ मन्त्री भएकै बेला उक्त पुस्तकको काम थालिएको थियो । 

साहित्यकार, गीतकार, गायक तथा सङ्गीत क्षेत्रका रसिक प्रधान सम्पादक रहनुभएको पुस्तकमा फाउन्डेसनका महासचिव तथा लेखक सुदर्शन श्रेष्ठ कार्यकारी सम्पादक रहनुभएको छ । 

पुस्तकको सम्पादक मण्डलमा प्रद्युम्न जोशी, लक्ष्मी राई, डा. उद्धव राई रहनुभएको छ । पुस्तकमा झापाको नेपाली साहित्यको ऐतिहासिक रूपरेखा प्राडा गङ्गाप्रसाद अधिकारीले लेख्नुभएको छ । तेह्रथुमको नेपाली साहित्यबारे रविमान लम्जेल, भोजपुरको वाङ्मय सर्वेक्षण डा. विप्लव ढकाल, सङ्खुवासभाको कवि र कविताका विषयमा डा. मातृका तिम्लिसिना, उदयपुरको साहित्य विगतदेखि वर्तमानसम्म कौशल चेम्जोङ, खोटाङ जिल्लाको नेपाली साहित्यको अवस्था डा. धनप्रसाद सुवेदी, ओखलढुङ्गाको साहित्यिक इतिहास एक सर्वेक्षण चेतनाथ धमला, सोलुखुम्बुको नेपाली साहित्यको प्रारम्भ र विकास क्रमबारे हरि कट्टेलले लेख्नुभएको छ भने समग्रमा कोशी प्रदेशको नेपाली साहित्यको अवलोकन सुदर्शन श्रेष्ठले लेख्नुभएको छ । 

यस्तै इलामको नेपाली साहित्यको इतिहास डा. देवी क्षेत्री दुलाल, पाँचथर जिल्लाको सङ्क्षिप्त साहित्यिक इतिहास सरस्वती दुमि राई र मधुराज केरुङ, ताप्लेजुङ जिल्लाको साहित्य परिचय टङ्क श्रेष्ठ, मोरङमा नेपाली साहित्य दधिराज सुवेदी, सुनसरीको साहित्य इतिहास प्राडा भोलानाथ पोखरेल, धनकुटाको साहित्यिक अवस्थाको झलक प्राडा गोपालबहादुर भट्टराईले लेख्नुभएको छ ।