• १२ असोज २०८१, शनिबार

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

blog

राप्ती नदीमा पानीको सतह सतर्कताको बिन्दु नजिक पुग्यो । तस्विर : सिराज खान ।

सिराज खान 

नेपालगञ्ज, साउन ९ गते । अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह सतर्कताको बिन्दु नजिक पुगेपछि बाँकेको तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन सूचना जारी गरिएको छ ।  

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले कुसुम क्षेत्रमा राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको बिन्दु ६ मिटर कायम गरिएकोमा पानी सो नजिक पुगिसकेकोले सावधानीको सूचना जारी गरिएको जानकारी दिनुभयो । उहाँले मङ्गलबार दिउँसो १ बजे राप्ती नदीमा पानीको सतह ५ मिटर ७५ सेन्टिमिटर पुगेको बताउनुभयो ।

सूचना अधिकृत ज्ञवालीका अनुसार दाङ, रोल्पा, प्युठानमा लगातार पानी परेकाले नदीको सतह बढेको हो । मङ्गलबार बिहानैबाट नदी क्रमिक रूपले बढ्दै गएको छ । नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो ।

सूचना अधिकृत ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँबस्तीमा सतर्क रहने सूचना पठाइएको बताउनुभयो । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार कुसुममा पानीको सतह ७.८ मिटर पुग्नेबित्तिकै खतरास्वरुप नदी छेउछाउमा साइरन बजाइन्छ । नदीको सतह ७ मिटर ८० सेन्टिमिटर पुग्नेबित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गरेका छन् । 

भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रूपले बग्न नपाउँदा नेपाली भूभाग राप्ती नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका बासिन्दा विगत धेरै वर्षदेखि बर्सेनि डुबानमा पर्दै आएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नदीको सतह बढेर ५.७५ मिटर पुगेपछि राप्तीपारिको उच्च जोखिममा रहेका क्षेत्रहरूमा अलर्ट जारी गरिएको बताउनुभयो । उहाँले जोखिमका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क र सजग रहन आग्रह गरिएको र ती सबै ठाउँमा सुरक्षा निकायका तीन वटै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । 

राप्ती नदी वरिपरिको क्षेत्रका विपद् व्यवस्थापन समितिहरू पनि तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।