• १६ वैशाख २०८१, आइतबार

वीरमा थप शय्यासहित भिआइपी र भिभिआइपी कक्ष सञ्चालनमा

उपचारका लागि कोही विदेश जानु पर्दैन : मन्त्री बस्नेत

blog

वीर अस्पतालमा सञ्चालनमा आएको भिआइपी र भिभिआइपी कक्षको अवलोकन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतसहितको टोली । तस्बिर : सिर्जना खत्री

काठमाडौं, साउन ९ गते । वीर अस्पतालले विशिष्ठ व्यक्ति (भिआइपी र भिभिआइपी) का लागिथप शय्या र सुविधासहित भिआइपी र भिभिआइपी कक्ष सञ्चालनमा ल्याएको छ । वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भिआइपी र भिभिआइपीका लागि दुई शय्या छुट्याइएको थियो । अहिले नयाँ सर्जिकल भवनमा तीन शय्या थप गरेर कुल पाँच शय्या भिआइपी र भिभिआइपीका लागि सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

वीर अस्पतालमा सञ्चालनमा आएको भिआइपी र भिभिआइपी कक्षको मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गर्नुभएपछि उक्त कक्ष सञ्चालनमा आएको हो । स्वास्थ्य मन्त्री बस्नेतले भिआइपी र भिभिआइपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भिआइपी र भिभिआइपी कक्षको सुविधा र सङ्ख्या थप गरेर सञ्चालनमा ल्याइएको बताउनुभयो ।


सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा अहिले चालिएको कदम प्रभावकारी हुने र सम्पूर्ण भिआइपी तथा भिभिआइपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गरेको मन्त्री बस्नेतको दाबी छ ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘‘वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टिम बनाएका छौँ । त्यही टिमले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन ।’’ मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमी हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको भिआइपी तथा भिभिआइपी उपचार विशेषज्ञ समितिमा डा. किरण श्रेष्ठ, डा. ध्रुव गैरे, डा. रविराम श्रेष्ठ, डा. शैली प्रधान, डा. भगवान् कोइराला, डा. पुकारचन्द्र श्रेष्ठ, डा. महेश अधिकारी, डा. सुभाष आचार्य, डा. सुन्दुक रुइत, डा. शशी शर्मा, डा. रत्न गजुरेल, डा. भोला रिजाल, डा. मनबहादुर केसी, डा. रमेश चोखानी हुनुहुन्छ ।


उपकुलपति डा. बस्नेतले पहिले पनि भिआइपी र भिभिआइपी उपचारका लागि ओपिडीमा आउने गरेको जानकारी दिनहुँ केही समय यता भर्ना नै हुने गरी कोही नभएको तर अब सुविधा सम्पन्न भएपछि उपचारका लागि आउने विश्वास व्यक्त गर्नुभयो ।

उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहित किचेन समेतको सुविधा छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले पुरानो भवनमा दुई र नयाँ सर्जिकल भवनमा तीन शय्या थप गरेर पाँच शय्याको भिआइपी तथा भिभिआइपी कक्ष सञ्चालनमा आए पछि उपचारका लागि विदेश जाने चलन कम हुने बताउनुभयो । बिहान ८ बजेदेखि नै ओपिडी सेवा सञ्चालन गरे पछि अहिले धेरै बिरामीले वीर अस्पतालमा सहज रूपमा सेवा पाइरहेको डा. पौडेलले बताउनुभयो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।