• ३० वैशाख २०८२, मङ्गलबार

गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध

एक दर्जनको सङ्ख्यामा पहिरो

blog

सन्धिखर्क-गोरुसिंगे सडकखण्डको शितगंगा नगरपालिका ४ क्षेत्रमा गएको पहिरो । तस्बिरः राधा नेपाली

राधा नेपाली

सन्धिखर्क, साउन ९ गते । अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध बनेको छ । अर्घाखाँचीको नरपानी, घुम्ती, दहखोला, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । 

साना-ठुला गरी विभिन्न स्थानमा झण्डै एक दर्जनको सङ्ख्यामा पहिरो गएको इलाका प्रहरी ठाडाले जनाएको छ । यस्तै, गोरुसिङ्गे-सन्धिखर्क सडक विस्तारको काम भइरहेको छ भने अधिकांश पहिरो सडक विस्तार गरिएको स्थानमै गएको हो । 

मङ्गलबार बिहानदेखि अवरुद्ध भएको पहिरो हटाउन डोजर (एक्स्काभेटर) समेत परिचालन गरिएको छ । फुदवाङ, दहखोला, नरपानी, घुम्ती, अमराई लगायतका ठाउँमा स्थानीय तहको समन्वयमा डोजरले पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । 

धेरै स्थानमा पहिरो गएकाले सडक अवरुद्ध हटाउन केही समय लाग्ने उहाँको भनाइ छ । सडक अवरुद्ध भएपछि बिहानैदेखि यात्रुहरू सडकमै अलपत्र परेका छन् । छत्रदेव गाउँपालिकाको छत्रगञ्ज, चोरझुण्डामा पहिरो गएपछि सन्धिखर्क-तम्घास सडक पनि अवरुद्ध भएको छ ।


पहिरोले सडक अवरुद्ध भएपछि राेकिएका सवारी साधन र अलपत्र यात्रु । तस्बिरः राधा नेपाली