• १६ असार २०८१, आइतबार

पुँजीगत खर्च वृद्धि गर्न उद्योग व्यवसायीको माग

blog

उद्योग व्यवसायीसँगको छलफलमा अर्थमन्त्री डा. महत । तस्विरः लक्ष्मण पौडेल

भैरहवा  समाचारदाता

भैरहवा, साउन ८ गते । उद्योग व्यवसायीले पुँजीगत खर्च वृद्धि गर्न र बैङ्कहरूको धरपकड रोक्न अर्थमन्त्रीसमक्ष आग्रह गरेका छन् । यस्तै, उनीहरूले नेपाल आउने भारतीय पर्यटकले नाकामा अनेक समस्या झेलिरहेको भन्दै समाधान गर्न समेत माग गरेका हुन् । 

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले सोमबार भैरहवामा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग आयोजना गरेको छलफल कार्यक्रममा बोल्नुहुँदै निजी क्षेत्रका व्यवसायीले अर्थमन्त्रीसँग दर्जन समस्या राख्दै समाधानका लागि पहल गर्न अनुरोध गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्छ र सञ्चालनमा आउँछ भनेर निजी क्षेत्रबाट ८० अर्ब लगानी भएको तर पूर्णक्षमतामा नचल्दा निराश भएको बताउनुभयो । “पीडित व्यवसायीलाई अहिले बैङ्कले विभिन्न बहानामा धरपकड गरिरहेको छ”, उहाँले भन्नुभयो, “समस्यामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । यसलाई सरकारले सम्बोधन गर्नुपर्छ ।” उहाँले ढुङ्गागिट्टी भारत निकासीको व्यवस्थालाई छिटो कार्यान्वयन गर्न आग्रह गर्नुभयो । यस्तै, जग्गा कित्ताकाटलाई खुकुलो गराउन पनि उहाँको आग्रह छ । अध्यक्ष शर्माले पुँजीगत खर्च निराशाजनक भएको भन्दै यसलाई बढाउन माग गर्नुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विद्युत आपूर्ति नियमित नहुँदा समस्या भइरहेको बताउनुभयो । “कतिबेला आउँछ र कुनबेला जान्छ भन्ने ठेगान छैन”, उहाँले भन्नुभयो, “विद्युतको सहज आपूर्ति नहुँदा निजी क्षेत्र निकै मर्कामा छ, यसलाई सहज बनाउनुपर्छ ।” उहाँले पुँजीगत खर्च बढाउनुपर्ने, जग्गा कित्ताकाटलाई सहज बनाउनुपर्ने, गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने लगायतका माग अर्थमन्त्री समक्ष राख्नुभयो । 

यस्तै, अध्यक्ष श्रेष्ठले भारतीय पर्यटकले २५ हजार रुपियाँभन्दा बढी रकम ल्याएर नेपाल आउन नपाउने नियम अव्यवहारिक भएको र यसलाई बढाउनुपर्ने, बैङ्क व्याज नियन्त्रण गर्नुपर्ने, एकीकृत जाँच चौकी छिटो निर्माण गर्नुपर्ने, निर्माण व्यवसायीको रोकिएको भुक्तानी छिटो दिनुपर्ने, बुटवल–नारायणगढ सडक निर्माणलाई छिटो सक्न पहल गर्न आग्रह गर्नुभयो ।

छलफलमा अर्थमन्त्री डा.महतले सीमा क्षेत्रबाट हुने गैरकानुनी क्रियाकलापलाई निस्तेज पारिने बताउनुभयो । उहाँले भन्सार नाकाहरूमा अहिले भइरहेको कडाइ सकारात्मक भएको जनाउँदै गैरभन्सार क्रियाकलाप रोक्न सरकार कटिबद्ध रहेको बताउनुभयो । अर्थमन्त्री डा.महतले भन्नुभयो, “अहिले भन्सार नाकाहरूमा कडाइ गर्दा दैनिक उपभोग्य सामान लिनेलाई पनि रोकिने गरेको भन्ने कुराहरू बाहिर आएको छ, त्यस्ता विषयमा एकपटकलाई व्यवहारिक पक्ष हेरिनुपर्छ तर पटक–पटक गर्नेलाई निरुत्साहित गर्नपर्छ ।”

डा.महतले गैरभन्सार क्रियाकलाप हुँदा स्वदेशी व्यवसायी मर्कामा पर्ने र राजश्वमा पनि असर पर्ने भएकाले यसलाई रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि बहानामा स्वदेशी व्यवसायी मर्कामा पर्नुहुँदैन, सरकारले यसमा सजग छ ।” अर्थमन्त्री महतले आइतबार आएको नयाँ मौद्रिक नीतिले अलमलमा परेको अर्थतन्त्रलाई चलायमान गराउने विश्वाससमेत व्यक्त गर्नुभयो । साथै अर्थतन्त्रमा पनि सकारात्मक सङ्केतहरू देखा पर्न थालेको उहाँले बताउनुभयो । “अहिले मूल्यवृद्धि नियन्त्रण भएको छ, पुँजीगत खर्च बढे यसले राम्रो सन्देश दिनेछ”, उहाँले भन्नुभयो ।

उहाँले सरकार सधैँ निजी क्षेत्रको पक्षमा रहेको उल्लेख गर्दै आवश्यक पर्ने अप्ठ्याराहरूमा सहयोगीको भूमिका खेल्ने समेत प्रस्ट पार्नुभयो । अर्थमन्त्री डा.महतले पुँजीगत खर्च न्यून हुनु चिन्ताको विषय भएको जनाउँदै यसलाई सुधार गर्न चालु आर्थिक वर्षको कात्तिकभित्र ठेक्का सम्झौता गर्ने गरी अघि बढेको बताउनुभयो । “कतिपय अवस्थामा स्रोत सुनिश्चित नहुँदै योजना ल्याउने र ठेक्का सम्झौता गर्दा पनि समस्या भएको छ”, उहाँले भन्नुभयो, “स्रोत सुनिश्चित गरेर मात्रै कार्य थालनी गर्नुपर्छ ।”

यस्तै, उहाँले केही कुराहरूमा ध्यान नदिँदा गौतमबुद्ध र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन आउन नसकेको उल्लेख गर्दै सरकारले नियमित सञ्चालनको प्रयास गरेको बताउनुभयो ।