• ११ मंसिर २०८१, मङ्गलबार

धानबालीलाई किराबाट जोगाउन हरेरी पूजा गरिँदै

blog

हरेरी पूजा गर्दै कैलालीको नुक्लिपुर गाउँका किसान । तस्बिर सौजन्य : दिनेश दहित

अविनाश चौधरी

धनगढी, साउन ८ गते । धानबालीलाई किराबाट जोगाउनका लागि थारु बस्तीमा हरेरी पूजा गर्न थालिएको छ । बाली पूजाको रूपमा कैलालीका थारुले हरेरी पूजा गर्न थालेका हुन । 

प्रकृतिपूजक मानिने यो समुदायका मानिसले रोपाइँ सकिएको केही दिनपछि हरेक वर्ष हरेरी पूजा गर्ने गर्दछन् । हरेरी पूजा गरेपछि धानबालीमा किराको प्रकोप र अन्य रोग कम हुने जनविश्वास रहेको गौरीगङ्गा नगरपालिका –१० नुक्लिपुर गाउँका भलमन्सा हिंगुराम चौधरीले बताउनुभयो । उहाँकाअनुसार साउन र भदौ महिनामा यो पूजा गर्ने प्रचलन छ । 

“हरेरी पूजा सबै गाउँमा सँगै हुँदैन” भलमन्सा चौधरीले अगाडि थप्नुभयो, “आ–आफ्नो गाउँको समयानुकूल पूजा गर्ने गरिन्छ ।” थारु समुदायका व्यक्तिहरूका अनुसार समुदायले वर्षभरि विभिन्न समयमा गर्ने विभिन्न पूजामध्ये हरेरी पूजा प्रमुख पूजा हो । यो पूजा गाउँका देशबन्धिया र केसौका गुरुबामार्फत गाउँभरका किसानलाई राखेर भलमन्साको आँगनमा गर्ने गरिन्छ । 

यो पूजामा जङ्गलमा पाइने गनियारी (कुकाठ प्रजाति) को बोक्रा, पसाएको धान दूधमा मिसाएर गाउँका गुरुवाले जडीबुटी बनाउने गर्दछन् । गुरुबाको मन्त्र उच्चारणसहित तयार पारिएको सो तरल जडीबुटी गाउँका सबै किसानले आफ्नो खेतमा छर्कने चलन छ । यसरी, तरल जडीबुटी छर्केमा धानमा लागेको किरा, फट्याङ्ग्रा धान खेतबाट भाग्नुका साथै पछि पनि नलाग्ने जनविश्वास गरिन्छ । 

यसैगरी, धानमा अन्य रोगको प्रकोप पनि नभई बाली सप्रिने विश्वास छ । “हरेरी पूजा गरेमा खेतमा काम गर्दा सर्प, किरा, बिच्छीलगायतले पनि सम्भवतः नटोक्ने गाउँघरमा विश्वास छ” भलमन्सा चौधरीले भन्नुभयो, “रोपाइँ सकेपछि कुनै गाउँकाले चाँडै, कुनै गाउँकाले केही ढिलोगरी वर्षमा एक पटक अनिवार्य हरेरी पूजा गर्ने चलन छ ।”

हरेरी पूजापछि मात्रै खेतमा गएर घाँस काट्न पाइने विश्वास गरिन्छ । चौधरीका अनुसार विगतमा रोपाइँपछि हरेरी पूजा नगरेसम्म थारु समुदायका पुर्खाहरू खेतमा गएर घाँस काट्ने कार्य गर्दैनथे । यस्तै, हरेरी पूजापछि मात्रै थारु बस्तीमा मादल बजाउन अनुमति दिइन्छ । सखिया, मुङ्ग्रहुवा, झुमरालगायतका थुप्रै नृत्य मादलको तालमा गर्ने चलन छ । 

हरेरी पूजा नगर्दासम्म गाउँमा मादल बजाउन बन्द रहने गरेको धनगढी उपमहानगरपालिका–५ तारानगरका भलमन्सा गोठुराम चौधरीले बताउनुभयो । “पूजा नहुँदासम्म खेतमा घाँस पनि काट्न पाइँदैन” उहाँले भन्नुभयो ।

थारु समुदायले हरेरीसहित असारी पूजा, लवाङ्गी पूजा लगायतका कृषि बालीलाई लक्षित गरेर विभिन्न पूजा गर्दैआएका छन् । धानबालीमा किराको प्रकोप अत्यधिक भएमा किरा निकासी गर्ने चलन पनि रहेको जनाइएको छ । किरा निकासी गर्दा धानमा रहेका पाँच वा सात किरा समाती त्यसमध्ये तीन वटा किरालाई गुरुबा वा केसौकाले खाने बाँकीलाई छोड्ने चलन छ ।