• १२ मंसिर २०८१, बुधबार

चीनमा व्यायामशालाको छाना भत्किँदा ११ जनाको मृत्यु

blog

बेइजिङ, साउन ८ गते । उत्तरपूर्वी चीनमा एक विद्यालयको व्यायामशालाका लागि बनाइएको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।

हेइलोङजियाङ प्रान्तको किकिहारमा निर्माणकर्मीहरूले भवनको छतमा पानी जम्मा गर्न अवैधरूपमा संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्किएको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सरकारी सञ्चारमाध्यमका अनुसार सरकारी प्रसारक सीसीटिभीले प्रसारण गरेको फुटेजमा कङ्क्रिटको स्ल्याबबाट बनेको छाना पूरै ढलेको देखिएको छ । उद्धारकर्मीहरूले पीडितहरूसम्म पुग्नका लागि कङ्क्रिट र घुमाउरो धातुको ठूलो टुक्राहरू तोडेको फुटेजले देखाएको छ । दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनाको गहन अनुसन्धान भइरहेको र निर्माण कम्पनीका प्रमुखलाई प्रहरी हिरासतमा राखिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सिन्ह्वाका अनुसार ३४ नम्बरको मिडिल स्कुलको जिम आइतबार दिउँसो ३ बजेतिर ढलेको थियो ।

स्थानीय पत्रिका हेइलोङजियाङ डेलीका अनुसार दुर्घटना हुँदा १९ जना जिममा थिए । चार जनालाई भग्नावशेषबाट बाहिर निकालिएको र अन्य चार जना दुर्घटनापछि भागेर ज्यान बचाउन सफल भएका छन्  ।

करिब १६० अग्निनियन्त्रक र ३९ वटा फायर ट्रकको खोजी तथा उद्धार कार्य सम्पन्न भएको छ । “व्यायामशाला २० वर्षभन्दा पहिले निर्माण गरिएको थियो र धेरै ठाउँ लामो समयदेखि जीर्ण अवस्थामा पुगेको थियो,” स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सले भनेको छ, “छतमा थुप्रिएका सबै सामानले केही न केही होला कि भनेर सबै चिन्तित थिए ।” रासस/एएफपी