• १० मंसिर २०८१, सोमबार

प्रथम क्रान्तिकारी महिला

blog

नेपालमा महिला अधिकार, सशक्तीकरण र महिला उत्थानका लागि सङ्घर्ष गर्ने प्रेरणादायी महिलाको कमी छैन, जसले समयक्रममा ठुलो त्याग, तपस्या र परिश्रमद्वारा राष्ट्रको सेवा गरी समाजमा आफ्नो उच्च स्थान सुरक्षित गरेका छन् ।

त्यस्तै प्रेरणादायी व्यक्तित्वमध्येकी एक हुनुहुन्छ– योगमाया न्यौपाने । उहाँ आजभन्दा १४६ वर्षअघि अर्थात् विसं १९२४ मा हालको भोजपुर जिल्लाको नेपालेडाँडा गाविसको सिम्ले भन्ने स्थानमा मध्यमवर्गीय परिवारमा जन्मनुभएको थियो । बाबु श्रीलाल न्यौपाने र आमा चन्द्रकला न्यौपानेकी एक मात्र छोरी योगमाया नेपालकी प्रथम क्रान्तिकारी, धर्मसुधारक, बलिदानी एवं तपस्वी नारीका रूपमा चिनिनुहुन्छ । 

योगमायाको जन्म राणाशासनको चरमोत्कर्षका बेला भएको थियो । राणाकालीन नेपाल शोषण, सामन्ती, उत्पीडन, कुरीति, बेथिति, मानवीय विभेद र हुकुमी शासनको पर्याय जस्तै थियो । तत्कालीन समाजमा सर्वसाधारण मान्छेका हकअधिकार, अस्तित्व र मूल्यहरूको कुनै महत्व थिएन । यस्ता खाले विभेद र वर्जनाहरूका साथै धर्मका नाममा हुने आडम्बर, शोषण र अन्धविश्वासको घोर निन्दा एवं विरोध गर्दै योगमायाले पूर्वी पहाडमा नयाँ खालको तरङ्ग पैदा गर्नुभएको थियो । 

नेपाल र भारतका विभिन्न ठाउँमा बसेर एकान्त साधना गरी आध्यात्मिक अन्तज्र्ञान प्राप्त गर्नुभयो । उहाँले भोजपुरको शाल्पा सिलिछो भन्ने ठाउँमा नौ महिनासम्म गुफामा बसेर हठयोगको साधनासाथ कठोर तपस्या गर्नुभयो र त्यसबाट भगवान् श्रीशङ्करको साक्षात् दर्शन प्राप्त भएको कुरा उल्लेख्य छ । उहाँले यो कुरा आफ्ना भक्त र अनुयायीहरूलाई बताउनुभएको थियो ।

ज्ञान प्राप्तिपछि योगमायाले नेपालेडाँडाको मजुवा ब्यासी सत्सङ्ग स्थलमा हजाराैँ सङ्ख्यामा रहेका आफ्ना भक्तलाई एकत्रित बनाई कवितात्मक प्रवचन दिन थाल्नुभयो । उहाँको प्रवचनको विषय सामाजिक जागरण, धार्मिक सुधार र कुरीति एवं अन्धविश्वासको विरोध हुने गथ्र्यो । उहाँका जागरणमूलक गीत, कविताहरू धार्मिक विषयवस्तुमै आधारित हुन्थे र तिनमा जीवनका सार्वभौम सत्य, व्यावहारिक यथार्थ र ईश्वरीय चिन्तनका गम्भीर भावसमेत रहेका हुन्थे । यसरी जनचेतना जगाई राणा सरकारलाई सचेत गराउने प्रयास गर्दा उहाँले जेलसमेत जानु प-यो । योगमायाको जीवनमा दुःखद तर रोचक धेरै घटना आए, जसको सामना गर्दै जाँदा उहाँ नेपालको समाजसेवाकी पर्याय नै बन्नुभयो । आजसम्म पनि नेपालका महिलामध्ये उहाँ उच्च स्थानमा रहनुभएको छ । उहाँलाई नेपालको समाजसेवा र महिला मुक्तिका सन्दर्भमा युगौँ युगसम्म नेपालीले सम्झिरहने छन् । 

योगमायाको विवाह पाँच वर्षको उमेरमा भोजपुर भुल्केका मनोरथ कोइरालासँग भएको थियो तर योगमाया सात वर्षकी हुँदा उहाँका पतिको निधन भयो । यसरी बालविधवा बन्नुभएकी योगमायाले पतिको मृत्युपछिका तीन वर्षसम्म सासू र नन्दबाट घोर अपमान एवं अत्याचारको सामना गर्नु प-यो । त्यसपछि उहाँ एक्लै तीन दिनको बाटो हिँडेर माइतीमा पुग्नुभयो । माइतमा पनि उहाँको बसाइ असहज भएकाले दुई वर्ष मात्र त्यहाँ बसेर भारतको आसामतर्फ लाग्नुभयो । 

त्यहाँको बसाइ पनि त्यति सहज र सुखद नभएपछि नेपाल फर्किएर आफ्नै जन्मथलो निकट मझुवाबेँसीमा अरुण नदीको किनारामा कठोर तपस्यामा लीन हुनुभयो । कठोर तपस्या र बिहान बेलुका हुने सङ्गीतमय भजनकीर्तनका कारण हजाराैँ व्यक्तिहरू उहाँका भक्त बने । उहाँ आशुकविका रूपमा पनि देखा पर्नु भयो । उहाँका वाणीहरू कवितात्मक शैलीमा प्रस्फुटन हुन थाले, जुन वाणीलाई उहाँका शिष्य पण्डित प्रेमनारायण भण्डारीले छोरी नैनकलाका मुखारविन्दबाट सुनेर टिपोट गरी ‘सर्वार्थ योगवाणी’का नाममा प्रकाशित गर्नुभएको पाइन्छ । योगमायाका वाणी र प्रयास सबै समाजसेवा र समाज सुधारमा केन्द्रित रहेका थिए । 

योगमायाले तत्कालीन राणाशासक श्री ३ जुद्ध शमशेरसँग काठमाडौँमा भेटेर समाज सुधारसम्बन्धी आफ्ना मागहरू राख्नुभयो, जसमा सामाजिक विषयवस्तुका साथै तत्कालीन राजनीतिक एवं प्रशासनिक सुधारका विषय थिए । सुरुमा जुद्धशमशेरले ती माग पूरा गर्ने आश्वासन दिए तर कालान्तरमा पूरा गरेनन् । त्यसैले योगमायाले विसं १९९५ सालमा आफ्ना २४० जना सहयोगीका साथ आत्मदाह गर्ने योजना सार्वजनिक गर्नु परेको थियो ।  त्यसपछि धनकुटा गौँडाका बडाहाकिमको नेतृत्वमा गएको झन्डै पाँच सय जनाको फौजले योगमाया र उहाँका सहयोगीहरूलाई चारैतिरबाट घेरा हाली पक्राउ गरेका थिए । यसको तीन वर्षपछि विसं १९९८ सालमा समाज सुधारको माग गर्दै योगमायाले आफ्ना ६८ जना सहयोगीका साथ जलसमाधि लिएर अरुण नदीमा देहत्याग गर्नुभयो, जुन घटना विश्वमा सुनिएका सामूहिक आत्महत्याका विरलै घटनामध्ये पर्दछ । यो घटनालाई महिला मुक्ति आन्दोलनसँग पनि जोडेर हेर्ने गरिन्छ । 

योगमाया आर्यसमाजी विचारतिर ढल्कनुभएको थियो । त्यसैले उहाँले आफ्नो जीवन नै नेपालीका निम्ति चेतनाको दियो बन्ने प्रयत्नमा लगाउनुभयो । उहाँका वाणीहरूमा भक्ति, अध्यात्म र यौगिक चेतना पाइन्छ । उहाँले भक्तिको सरल मार्ग अँगालेर जीवनलाई योगसिद्धिको उचाइसम्म पु-याउने निरन्तर प्रयास गर्नुभयो । हाल प्राप्त वाणीहरूलाई चिन्तन मनन गर्ने हो भने उहाँले सरल र सहज भक्तिको धारा प्रवाहित गर्दै परम्परागत विकृतिमा सुधार ल्याई आफ्नो मातृभूमिको सेवा गर्न चाहनुभएको कुरा सहजै अनुभव गर्न सकिन्छ ।

योगमायाको प्रयास त्यतिखेरको रूढिग्रस्त समाजले पचाउन नसक्दा उहाँले विद्रोहको मार्ग अवलम्बन गर्नु परेको थियो । समाज सुधारको माग गर्ने योगमायाको विरोध तात्कालिक समाजका केही व्यक्तिहरूले गरेका थिए । उहाँलाई आश्रय दिएको आरोपमा समाजले उहाँका भाइलाई जातच्युत गरेको थियो तर योगमायाले यसबाट कहिल्यै हरेस खानु भएन । सहज भक्तिमार्गमा लागेर उहाँले जीवनपर्यन्त सर्वसाधारणको मन जित्नुभयो । उहाँका भक्तिमय भावनाहरू भजन, गीत, गजल र कवितामा प्रकटित छन् । उहाँका रचनामा शैलीगत दृष्टिले जोसमनी सन्त परम्परा साहित्यको झलक पाइन्छ । तथापि योगमायाका गजल, भजन, गीत र कविताहरूमा भने सगुण र निर्गुण दुवै किसिमका भक्तिधारा पाइन्छन् ।

विद्वान् र खोजकर्ताहरूले योगमायाका गुरु स्वर्गद्वारीका अभयानन्द गिरीलाई मान्दछन्, उहाँ जोसमनी सन्त परम्पराबाट प्रभावित हुनुहुन्थ्यो भनिन्छ । योगमायाले आफ्नो विचार, आस्था र आदर्शका लागि षडानन्द गुरु महाराजका सत्कार्यबाट प्रेरणा लिनुका साथै धौलावीर राईसँग सहकार्य गरी प्युठानको स्वर्गद्वारी आश्रमका स्वामी अभयानन्द गिरी (द्वितीय) बाट सन्त दर्शनको शिक्षा ग्रहण गर्नुभएको मानिन्छ । 

उहाँले आफ्ना रचनामार्फत सत्य र नैतिकताका लागि भगवान्सँग बल माग्दै पुकार पनि गर्नुभएको छ । उहाँले तत्कालीन सामन्ती अवस्थाको सजीव चित्रण गर्दै आफ्ना सिर्जनाहरूमा लोभीपापी र ढाँटछल गर्नेहरूप्रति व्यङ्ग्यवाण प्रहार गर्नुभएको छ । “अन्त्यकालमा त्यो घुसले फुटाउला धाँजा, बडो कष्ट मिलिजाला, त्यो घुस निस्की जाला, ऐले मात्र पचेको छ भरे पच्ने छैन, सम्झी राख सत्य वचन झुठो हुने छैन । जागिरदार लोभी छन् न्याय हेर्दैनन्, मर्नुपर्ने शरीर हो विचार गर्दैनन्, दुःखीजनले न्याय निसाफ सिधा पाउँदैनन्” जस्ता उहाँका रचनामा यस लोकको यथार्थ र परलोकप्रतिको विश्वास व्यक्त भएको स्पष्ट छ ।

योगमायाले आफ्नो जीवनकालमा आफ्नो जन्मघर र कर्मघरमा मात्र नभई परदेश भारतीय भूमि आसाममा पुगेरसमेत बारम्बार ठक्कर खानु परेको थियो । त्यसबाट प्राप्त शिक्षाका बारेमा पनि उहाँले आफ्ना रचनामा सटिक ढङ्गले उल्लेख गर्नुभएको छ । त्यति बेला दयानन्द सरस्वतीले आर्यसमाजको स्थापना गर्नु र बङ्गालमा वैदिक समाजको स्थापना हुनु जस्ता कार्यबाट योगमाया रहेको आसाममा पनि एक प्रकारको हलचल नै ल्याएको देखिन्छ । त्यसपछि हिन्दुका विधिव्यवहारमा समेत कतिपय परिमार्जनहरू भई उदारता र समानताले प्राथमिकता पाएको थियो । योगमायालाई स्वदेश फर्केर समाज सुधारमा लाग्ने प्रेरणा यस्तै सन्दर्भबाट मिलेको सहजै बुझ्न सकिन्छ । 

उहाँले ती अनुभव र प्रेरणालाई आफ्ना काव्यात्मक प्रस्तुतिहरूमा गाँस्दै गाउँ र समाजमा भएका विकृति एवं विसङ्गतिहरूको विरोध सुरु गर्नुभयो । उहाँले आफू र आफ्ना चेलामार्फत अन्याय, अत्याचार, दुराचार, ठगी र जातीय भेदभावका विरुद्ध डटेर मुकाबिला गर्नुभएको थियो । योगमायाको समाज सुधारको प्रयास तात्कालिक परिवेशको अभिव्यक्ति पनि थियो । उहाँले तात्कालिक जातीय कट्टरता, महिलामाथिको अत्याचार र समाजका भेदभावपूर्ण क्रियाकलाप आदिका विरुद्ध सशक्त आवाज उठाउनुभएको थियो, जसले समाजलाई परिवर्तनको बाटोमा लाग्न घच्घच्याएको थियो ।

त्यतिखेर योगमायाको समाजसुधार अभियानका विरुद्ध लाग्नेहरू पनि नभएका होइनन् । त्यसको कानुनी र प्रशासनिक उपचार गर्न पनि उनीहरू पछि परेनन् । उहाँले आफ्ना रचनामा नारी जातिप्रति उच्च सम्मान दर्साउँदै समानता र न्यायको पक्षमा लाग्न प्रेरणा दिनुभएको छ । उहाँले तत्कालीन समाज र त्यसभित्र जरा गाडेर बसेका अन्धविश्वास एवं कुरीतिप्रति आक्रामक शैली अपनाउनु भयो । उहाँको विचारमा सत्य भनेकै जनसाधारणको हित र पक्षपोषण गर्नु थियो ।

योगमायाले विभिन्न ठाउँमा गएर विभिन्न समयमा कठोर तपस्या गर्नुभएका कारण उहाँमा अजेय आत्मशक्ति बढेको थियो । पछिल्ला दिनहरूमा उहाँलाई सबैले साक्षात् देवीकै रूपमा मानेको पाइन्छ । उहाँमा यति आत्मबल बढेको थियो, उहाँले आफ्नो मतको सिर्जना मात्र नगरेर त्यसलाई समाजमा स्थापित गराउने कामसमेत गर्नुभयो । उहाँका शिष्य, अनुयायी र शुभचिन्तकहरू निरन्तर बढ्दै गएका थिए । यसरी उहाँले सामाजिक प्रतिष्ठा आर्जन गर्दै जानुभएको थियो ।  नेपालको सामाजिक आन्दोलनलाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सक्षम योगमाया सम्भवतः विश्वकै एक अगुवा क्रान्तिकारी महिला हुनुहुन्छ । उहाँको योगदान यथासमयमा प्रस्फुटित हुन पाएन । नेपालको विकट पहाडी ग्रामीण समाजमा जन्मनु र परम्परागत रूढिवादी सोचको बाक्लो कुहिरोले निरन्तर ढाकिएको अवस्थामा पर्नुका कारण उहाँमाथि भएका अमानवीय व्यवहारको पर्दाफास समयमा हुन सकेन । उहाँले एक्लै पीडाको भँगालोमा निसास्सिएर किशोरावस्था पार गर्नुप¥यो । उन्मुक्तिको मार्ग खोज्दै उहाँ आसाम पुग्नुभयो । त्यहाँ उहाँले भोगेको गृहस्थी जीवन, सामाजिक, धार्मिक गतिविधिको संलग्नता, नेपाल आगमन र नेपाली समाजका विद्यमान विकृति एवं विसङ्गतिलाई समूल नष्ट गरी धर्मको मर्म बुझेर नैतिकताको पालना गर्न/गराउन उहाँले अवलम्बन गर्नुभएका उदार विचार र व्यवहारका कारण नेपालकै चम्किलो तारा हुनुभयो ।

नेपालमा धर्मराज्यको स्थापना गर्न अनेक कार्य गर्दा पनि सुनुवाइ नभएपछि आफ्ना चेलाचेली सबैलाई आह्वान गरी विकृत समाजले कलुषित पारेको शरीरलाई राख्नुभन्दा त्याग्नु नै बेस ठानी उहाँले विद्रोहपूर्ण बलिदान गर्नुभयो । आज पनि नेपाली समाजमा योगमाया जस्ता व्यक्तित्वको आवश्यकता र महìव खड्किएको छ । खास गरी पछिल्ला दिनमा आएका विकृति र विसङ्गतिहरूको अन्त्य गर्नका लागि नेपाल आमाले लाखौँ योगमाया जन्माउनैपर्ने भएको छ । योगमायाले सुरु गरेको महिला मुक्तिको आन्दोलन र समाज सुधारको आन्दोलनको झन्डालाई उँचो राख्न हामी सबै सक्रिय हुन सक्नु नै आजको आवश्यकता हो ।  

Author

तारा सुवेदी