• ५ जेठ २०८१, शनिबार

स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन ‘डिजिटल हेल्थ’

blog

काठमाडौँ, साउन ६ गते । प्रविधिको विकाससँगै स्वास्थ्यमा सबैको पहुँच पु-याउन ‘डिजिटल हेल्थ’ को अवधारणा अघि सारिएको छ । सरकारले गत वर्ष नीति तथा कार्यक्रममा डिजिटल हेल्थ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार नेपालमा राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाउन सुरु गरिएको छ । 

हरेक नागरिकमा स्वास्थ्य सेवाको पहुँच पु-याउने लक्ष्य अनुसार ‘डिजिटल हेल्थ’ कार्यक्रमको अवधारणा आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा स्वास्थ्य सेवालाई सबैको पहुँचमा पु-याउनका लागि डिजिटल हेल्थको अवधारणा अघि सारेको जानकारी दिनुभयो । उहाँले डिजिटल हेल्थका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवद्धि गर्नुपर्ने भन्दै स्वास्थ्यकर्मीको क्षमता बढाएर स्वास्थ्यलाई विद्युतीय प्रणालीमार्फत एकीकत गर्नुपर्ने बताउनुभयो । कुनै व्यक्तिको प्रयोगशाला परीक्षण रिपोर्टलाई कुनै कार्ड वा नम्बरको आधारमा सबै स्वास्थ्य संस्थामा हेर्न सकिने प्रणालीको विकास गर्नु डिजिटल हेल्थ हो । 

डा. पोखरेलले स्वास्थ्य सूचना प्रणालीमार्फत विद्युतीय प्रणाली तथा रेडर्कमा एकरूपता भए फरक फरक तथ्याङ्क आउने समस्याको समाधान हुने बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक डिजिटल हेल्थ दिवस मनाएको हो ।

के हो डिजिटल हेल्थ ?

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्यको विकासलाई जोड्नका लागि प्रविधिको व्यापक प्रयोग भई स्वास्थ्यलाई सर्वव्यापी पहुँच पु-याउनु नै डिजिटल हेल्थ भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रविधिको माध्यमले स्वास्थ्यलाई पहुँच पु-याउन सकिन्छ । जस्तै टेलिमेडिसिन, विद्युतीय प्रणालीमा मेडिकल रेकर्ड राख्ने पद्धति, बिरामीको रेकर्ड राख्ने प्रणाली,  विद्युतीय प्रणालीबाट बिरामीको परीक्षण गर्न सकिने अवस्था, तथ्याङ्कको व्यवस्थापन, दुर्गममा जनतालाई विशेषज्ञसँग जोड्ने प्रविधि डिजिटल हेल्थका आयाम हुन् ।” उहाँले डिजिटल हेल्थ बहुआयामिक पक्ष रहेको भन्दै नेपालमा यसको प्रयोग हालसालै हुन थालेको बताउनुभयो । उहाँले डिजिटल हेल्थको व्यवस्थापन र कानुन निर्माणमा अझै काम गर्नुपर्ने बतउनुभयो । 

डिजिटल हेल्थ दिवस मनाइयो

यसैबिच नेपालमा पहिलो ‘राष्ट्रिय डिजिटल हेल्थ दिवस’ मनाइएको छ । राष्ट्रिय डिजिटल स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पु-याउन सूचना प्रविधिको प्रयोग बढाउनु आवश्यक रहेको बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री बस्नेतले ७३ प्रतिशत परिवारमा मोबाइल सेवा र ३८ प्रतिशत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु-याउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै स्वास्थ्य संस्थामा सूचना प्रविधिको पहुँच नपुगेसम्म जनताले छिटोछरितो सेवा पाउन नसक्ने बताउनुभयो ।

नेपाल मेडिकल काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीले नेपालमा सबैलाई स्वास्थ्यको पहुचमा जोड्न डिजिटल हेल्थ अपरिहार्य रहेको बताउनुभयो । विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा. राजेश पाण्डवले स्वास्थ्यमा सूचना प्रविधिको प्रयोगले मात्र अहिलेको स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गर्न सकिने बताउनुभयो ।

  

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।