• ११ मंसिर २०८१, मङ्गलबार

भारतबाट आउने दुध रोक्न माग

blog

काठमाडौँ, साउन ५ गते । भारतबाट दुध तथा दुग्धजन्य पदार्थको भइरहेको चोरी पैठारीलाई बन्द गर्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । भारतबाट लुकाइछिपाई नेपाल ल्याई कच्चा दुध बिक्री गर्दा नेपाली किसानको दुध बिक्रीमा समस्या भएको भन्दै त्यसलाई कडाइका साथ रोक्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले अहिले सीमावर्ती क्षेत्रमा भारतको दुध छ्यापछ्याप्ती पाइन्छ, त्यसले नेपाली डेरी तथा किसानलाई प्रभावित पारेको बताउनुभयो । नेपाली दुधभन्दा भारतको दुध सस्तो भएका कारण उद्योगी नेपालको दुध छाडेर भारतीय दुध खरिद गर्न पल्केका छन्, त्यसले गर्दा दुधको मात्रा बढेको बताउनुभयो । यति बेला नेपालमा दुध कम हुनुपर्ने हो तर भारतको दुधका कारण नेपालमा दुध अत्यधिक भएको छ, जसलाई कटाउनका लागि डेरीवालालाई मुस्किल भइरहेको छ । दुध कम हुने सिजनमा दैनिक तीन लाख लिटरभन्दा बढी दुध बजारमा बढी देखिन्छ । 

भारतबाट अवैध रूपमा आउने दुध रोक्नका लागि जिल्ला प्रशासन कार्यालयहरूमार्फत सरकारलाई ध्यानाकर्षण गराएको बताउँदै उहाँले भारतबाट आउने दुध रोक्न सकिएन भने नेपालको दुध सडकमा फाल्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । देशको भौगोलिक बनावट र नस्लका कारण दुध उत्पादन सुक्खा र फल्स सिजनमा वर्गीकृत रहेको छ । जसमा फल्स सिजनमा बढी उत्पादन भएको दुधलाई धुलो दुध र बटर उत्पादन गरी स्टक गरी सो दुग्ध पदार्थलाई वैशाखदेखि भाद्रसम्मको सुक्खा सिजनमा प्रयोग गरी उपभोक्तालाई दुध तथा दुग्ध पदार्थको अभाव हुन नदिने काम भइरहेको थियो । तर यस पटक बजारमा यति धेरै दुध बढी भएको छ कि धुलो दुध प्रयोग गर्ने अवस्था नै आउन सकिरहेको छैन । भारतबाट विदेशी ब्रान्डका दुध तथा दुग्ध पदार्थ अवैध रूपमा निरन्तर पैठारी भइरहेका कारण बजारको यस्तो अवस्था भएको नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेले बताउनुभयो ।

वैदेशिक दुध तथा दुग्ध पदार्थ समयमा रोक्न सकिएन भने देशभित्र रहेका हजारौँ डेरी उद्योग बन्द हुने जसको प्रभाव राज्यको ठुलो लगानी डुब्ने अवस्थामा पुग्न सक्ने भनि सरकारलाई ध्यानाकर्षण गराइएको छ । विदेशबाट आइरहेका सम्पूर्ण दुध तथा दुग्ध पदार्थलाई प्रक्रिया मिलाई पैठारी पूर्ण रूपमा बन्द गर्ने डेरीसँग सम्बन्धित सङ्घ संस्थाले माग गरेका छन् ।