• २० असोज २०८१, आइतबार

पैदल मेचीकाली यात्रा

blog

बिर्तामोड समाचारदाता 

बिर्तामोड, साउन ४ गते । सुदूरपश्चिमका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गर्दै एक युवक सुदूरपूर्वी जिल्ला झापा आइपुग्नुभएको छ । देशभर पैदल यात्रामा निस्कनुभएका कैलाली गौरीगङ्गा नगरपालिका–४, खुरखुरियाका देवराज उपाध्याय पैदल यात्रा गरेर बुधबार झापा आइपुग्नुभएको हो । पैदल हिँडेरै नेपाल घुम्ने लक्ष्यका साथ यात्रा सुरु गर्नुभएको १२६ दिनमा ३८ वर्षीय उपाध्याय झापा आइपुग्नुभयो ।

आफ्नो देश कस्तो छ भन्ने थाहा पाउन पैदल हिँडेको बताउनुहुने उपाध्यायले यात्रासँगै सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको पनि प्रचारप्रसार गर्दै आउनुभएको छ । सुदूरपश्चिमको खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, गोदावरी र बडीमालिका धाम, अपि र सैपाल जस्ता हिमालको प्रचारप्रसार गर्दै यात्रामा निस्किएको उहाँले बताउनुभयो ।

गत वर्ष मात्रै काँधमा हलोजुवा बोकेर २८ दिनमा मेची महाकाली पैदल यात्रा गर्नुभएका उपाध्यायको त्यस यात्राको उद्देश्य नेताहरू सच्चिए मात्रै देश विकास सम्भव छ भन्ने रहेको उहाँले बताउनुभयो । यस पटक देशको बारेमा जानकारी लिन यात्रामा निस्किएको बताउँदै उहाँले झापामा आइपुग्दा आफ्नो  ५२ औँ जिल्ला प्रवेश भएको जानकारी दिनुभयो ।