• २० असोज २०८१, आइतबार

गुटबन्दीभन्दा माथि उठ्न आग्रह

blog

बाबुराम कार्की

वराहक्षेत्र (सुनसरी), साउन ४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस खारिएको पार्टी भएकाले आफूभित्र भएको कमीकमजोरी आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनमा बुधबार बोल्दै उहाँले पार्टीमा समन्वय, सम्पर्क र सञ्चारलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले पार्टीलाई कार्यकर्ताले जोगाएको हुँदा कार्यकर्ताभन्दा नेता कहिल्यै ठुलो हुन नसक्ने बताउनुभयो । गुटबन्दीभन्दा माथि उठेर पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

जनप्रतिनिधि एक वर्षका लागि नभएर अझै चार वर्ष समयावधि रहेको बताउँदै पूर्वमन्त्री कार्कीले भन्नुभयो, “यो वर्ष हुन नसकेका शिक्षा, स्वास्थ्य, कृषि, सडकलगायत विकासका कामहरू आउँदो आर्थिक वर्षमा समेटेर गरिने छ ।” नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन गर्ने कांग्रेसमा नै जनताको भरोसा छ भन्दै उहाँले अबको दशकमा पार्टीले धेरै काम गर्नुपर्ने बताउनुभयो । 

सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सांसदहरू सदानन्द मण्डल र हाजी इसराइल मन्सुरी, पूर्वराज्यमन्त्री सीताराम मेहता, सुनसरी जिल्ला सभापति केदार भण्डारीको उपस्थिति थियो ।