• २० असोज २०८१, आइतबार

छ वर्षमा ४५ किलोमिटर कालोपत्रे

blog

जयकृष्ण यादव  

इनरुवा, साउन ४ गते । सडक सञ्जाललाई बलियो  बनाउने  योजना ल्याएको  हरिनगर गाउँपालिकाले  गएको वर्षमा ४५ किलोमिटर सडक कालोपत्रे  गरेको  छ। सीमावर्ती भारतीय बजार र सदरमुकाम इनरुवासँग तथा छिमेकी गाउँपालिकासँग सडक सञ्जाल जोड्ने योजनास्वरूप ४५ किलोमिटर सडक कालोपत्रे  गरिएको  हो। 

गाउँपालिकाले  हरिनगरा, घुस्की र भुटाहा बजार क्षेत्रमा कालोपत्रे  गरेको छ भने सीमावर्ती ग्रामीण क्षेत्रमा सडक निर्माणको  कामलाई तीव्रता दिएको  छ। बितेका पाँच आर्थिक वर्षमा अल्पकालीन र दीर्घकालीन योजना अन्तर्गत स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोगमा ४५ किलोमिटर सडक कालोपत्रे  गरिएको  हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले जानकारी दिनुभयो।

उहाँका अनुसार २०७४ सालको निर्वाचनबाट विजयी भएर आएपछि अहिलेसम्म सदरमुकाम इनरुवा जोड्ने एउटा सडक, भोक्राहा नरसिंह जोड्ने दुई, देवनागन्ज जोड्ने एउटा र भारतीय बजार घुर्ना, बसमतिया जोड्ने मुख्य दुई वटा सडकसहित नौ वटा सडक कालोपत्रे  गरिएको छ । त्यसै गरी ९ नम्बर वडामा सडक कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको  छ। गाउँपालिकाको कार्यालय रहेको हरिनगरा बजार क्षेत्रदेखि भित्री बस्तीका सडकहरूमा यतिबेला धमाधम कालोपत्रे  भइरहेको छ। 

गाउँपालिका, प्रदेश र सङ्घीय सरकार तथा उपभोक्ताको  संयुक्त लगानीमा सडक कालोपत्रे  गर्ने काम जारी छ। वर्षामा हिलामे, धुलाम्मे हुने सडकमा कालोपत्रे  गर्ने र उप्किएका ठाउँमा मर्मत गरेर सुधार्ने काम भइरहेको  मियाँले  जानकारी दिनुभयो । पालिकादेखि वडाका बजार जोडिएका भित्री सडकहरूमा कालोपत्रे  काम सकिएको र केहीमा जारी छ। जनप्रतिनिधिले  ल्याएको  नीति तथा कार्यक्रममा सडकलाई प्राथमिकता दिए अनुसार सडक कालोपत्रे  गरिएको सब इन्जिनियर भागवत रामले  बताउनुभयो ।