नागेन्द्रकुमार कर्ण
जलेश्वर, साउन २ गते । मलमाससँगै महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. ४ खुट्टा पिपराढीको गेरुकामा मङ्गलबार शाही स्नान गरिएको छ । आइतबारदेखि सुरु भएको मलमास अर्थात् पुरुषोत्तम मासको अवसर पारेर जानकी मन्दिरको महन्थको अगुवाइमा विशेष पूजासहित शाही स्नान गरिएको हो ।
मलमासमा गेरुका नदीमा भगवान् विष्णुको वास हुने भन्दै धनुषा तथा महोत्तरीको सिमामा पर्ने लोहारपट्टीको गेरुका नदिमा शाही स्नान गरिएको हो । शाही स्नानका लागि जनकपुरधामका विभिन्न मठ मन्दिरहरूबाट महन्थ, साधुसन्त सहितको टोली राम, सीताको झाँकी सहित गेरुका पुगेका थिए ।
शाही स्नानमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साह, प्रदेश सभाका सदस्य रामअशिष यादव, सामाजिक अभियन्ता अमरचन्द्र अनिल, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, वातावरण संरक्षण अभियानीहरु तथा जनकपुरको विभिन्न मठ मन्दिरका साधुहरूको सहभागिता रहेको स्थानीय युवा मनोज कुमार यादवले जानकारी दिनुभयो ।
गेरुका नदी संरक्षण समितिका सदस्य समेत रहनुभएका युवा यादवले पहिलो पटक यस वर्षको मलमासमा गेरुकामा शाही स्नान भएको बताउनुहुँदै नदिस् संरक्षण तथा गेरुका नदिको प्रचारप्रसारको लागि यो अहम् भएको बताउनुभयो । करिब पाँच वर्षपछि मलमास आएकोले यस वर्ष हरेक आइतबार र मङ्गलबार विशेष पूजासहित शाही स्नानको कार्यक्रम रहेको बत्ताउनुहुँदै नदी संरक्षण नहुँदा नदिका पानी कम देखिएको बताउनुभयो ।
बिग्ही र गेरुका नदिको संगमस्थलको रूपमा रहेको यहाँ स्नान गरी पूजापाठ गर्नाले चर्म रोग निको हुने तथा पुत्र प्राप्ति हुने जनविश्वास रहेको छ । यस मलमास वा अधिकमासमा भगवान् नारायणको पूजा अर्चना गरिने गरिए पनि हिन्दु समुदायमा यस अवधिमा अन्य पूजाहरू तथा विवाह, व्रतबन्ध लगायतका शुभकार्यहरु गरिन्न ।
मिथिला माहात्म्यमा भएको वर्णन अनुसार मिथिला क्षेत्रका महत्त्वपूर्ण १५ नदीहरू मध्येको एक गेरुका नदी पनि हो । मिथिलाको कोशी, कमला, विलुमती, जलाधी, यमुना, गेरुका, दुधमती, व्याघ्रवती, इच्छावती, विरजा, मण्डना, लक्ष्मणा, बागमती, गण्डकी र नारायणीलाई पुण्य र मोक्ष प्राप्तिका लागि फलदायी मानिँदै आएको छ । माता सीताको प्रिय सखीहरूको स्वरूपमा रहेको यी नदीहरूको पानीमा स्नान गर्नु फलदायी मानिने गरिएको स्थानीयहरूको भनाई रहेको छ ।
ऐतिहासिक, धार्मिक गेरुका नदीको संरक्षण र प्रचारप्रसारको लागि शाही स्नान लगायतले मद्दत पुग्ने स्थानीयहरूको भनाइ छ ।