• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचकमा उच्च अङ्कले वृद्धि

blog

काठमाडौं, साउन १ गते । नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले  वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७ दशमलव शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलव १६ मा पुगेको हो ।

यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ९५ अङ्कले उकालो लागेर चार सय चार दशमलव १० पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।

कूल ७६ लाख ३४ हजार एक सय ९० कित्ता शेयर रु दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय ८८ मा कारोबार भएको छ । जानकारहरूका अनुसार बैङ्क तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरुप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १४ करोड ८६ लाख १९ हजार चार सय ५५ बराबरको कारोबार भएको छ ।

यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स रु १० करोड ८४ लाख ६४ हजार आठ सय ९९,साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क रु सात करोड ७५ लाख १३ हजार छ सय ७२,सोल्टी होटल रु सात करोड ७३ लाख ३२ हजार दुई सय ४८ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु पाँच करोड ११ लाख ७६ हजार एक सय ६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बिपिडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्यमा दस प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त नौ दशमलव ८७, सिर्जनशील लघुवित्त सात दशमलव ८० र मल्टिप्रर्पोज लघुवित्तका लगानीकर्ताले सात दशमलव ३२ प्रतिशतले कमाएका छन् ।

यस्तै, कुमारी धनवृद्धि योजना आठ दशमलव ३७, सानीमा ग्रोथ फण्ड सात दशमलव ५१, सानीमा लार्ज क्याप फण्ड छ दशमलव २८, बैङ्क अफ काठमाडौंको ऋणपत्र पाँच दशमलव ८६ र मेगा म्युचुअल फण्डमा पहिलोका लगानीकर्ताले चार दशमलव ६३ प्रतिशतले गुमाएका छन् । रासस