• १३ मंसिर २०८१, बिहिबार

गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार

blog

अमरराज नहर्की 

तनहुँ, साउन १ गते । तनहुँको व्यास नगरपालिकाले गम्भीर प्रकृतिको रोग लागेका १०५ जना बिरामीलाई मासिक पाँच हजार रुपियाँ उपलब्ध गराउँदै आएको छ। मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षाघात भएकालाई औषधी उपचारका लागि सहयोग गर्न थालिएको हो। 

नेपाल सरकारले यी चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहलाई निर्देशन दिएको थियो। सोहीबमोजिम व्यासले सहयोग रकम जम्मा गर्न थालेको हो। पालिकाले त्रैमासिक रूपमा बिरामीको खातामा पैसा जम्मा गरेको छ। व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले औषधोपचार नपाई कोही पनि पीडामा बस्नु नपरोस् भन्ने उद्देश्यले तत्काल आफ्नो क्षेत्रका गम्भीर प्रकृतिका बिरामीलाई सङ्घीय सरकारको निर्णयबमोजिम नै उक्त खर्च दिइएको बताउनुभयो। मिर्गौला रोगीमध्ये डायलासिस गराइरहेका र मिर्गौला प्रत्यारोपण गरेकाले र क्यान्सरका बिरामीलाई गएको कात्तिक महिनादेखि औषधी खर्चबापत मासिक पाँच हजार प्रदान गरिँदै आएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो। 

चिकित्सकको सिफारिसमा वडा कार्यालयमार्फत चालु वर्षमा १०५ जनाको निवेदन परेको नगरपालिकाले जनाएको छ। जसमा क्यान्सरका बिरामी ६४ जना, डायलासिस गरेका बिरामी ३४ जना, मिर्गौला प्रत्यारोपण गरेका छ जना र मेरुदण्डको पक्षाघातको एक जना बिरामीलाई सहयोग गरिएको हो। स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले गत कात्तिकदेखि औषधी खर्चबापत रकम दिएको बताउनुभयो। नौ महिनाको अवधिमा प्रतिबिरामीले ४५ हजार रुपियाँ पाएको सोतीले जानकारी दिनुभयो। सरकारको ‘गम्भीर रोग लागेका बिरामीलाई जीविकोपार्जन कार्यक्रम’ अन्तर्गत औषधी खरिदका लागि ४० लाख १० हजार रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ।  जनस्वास्थ्य निरीक्षक लक्ष्मी गुरुङले सरकारले तोकेको लक्षित बिरामीले मासिक पाँच हजार प्राप्त गर्न चिकित्सकको सिफारिस आवश्यक पर्ने जानकारी दिनुभयो। सम्बन्धित व्यक्तिले उपचार गराइरहेको सिफारिस चिकित्सकले गरिदिएपछि बिरामीले उपचार खर्च माग गरेर नगरपालिकामा निवेदन दिनुपर्ने उहाँले जानकारी दिनुभयो।