लेखनाथ, मङ्सिर २७ गते । पोखरामा शनिबार सकिएको आइटिएफ जे ३० वल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि हात पार्दै आफ्नो उमेर समूहमा इतिहास कायम गर्नु भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा भएको सर्किट १ मा समेत सिभालीले दोहोरो उपाधि हात पार्नु भएको थियो ।
१४ वर्षमा नै गर्लस् सिङ्गल्स र डबल्समा जे ३० सर्किट १ र २ मा दोहोरो उपाधि जितेर इतिहास रच्दै उहाँले ७५ अङ्क बटुल्नु भएको छ । आउँदो जनवरीमा हुने अस्ट्रेलियन ओपन इलाइट ट्रफीको समेत तयारीमा रहुनु भएकी सिभालीले शनिबार भएको फाइनलमा ताइपेइकी के ची सुलाई सोझो सेटमा पराजित गरी उपाधि जित्नुभएको हो ।
पहिलो सेट ६–२ ले जित्दै ताइपेइकी खेलाडीलाई दबाबमा राख्न सफल उहाँले दोस्रो सेटमा ६–१ ले आफ्नो पक्षमा पार्नु भयो । गल्र्स डबल्समा नेपालकी शिभाली गुरूङ र ताइपेईकी के ची सुको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्यान्डकी बोइदेही उकिललाई ६–२ र ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्नु भयो ।
ब्वाइज सिङ्गल्समा ताइपेइका नं १ सिडिङ खेलाडी टिङ हो याङले जितेका छन् । १–१ सेटको बराबरीमा रहेको फाइनल खेलमा कोरियाली खेलाडी युल हो जुङ रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिनु भएको हो । खेलमा पहिलो सेट युल होले ४–६ ले जिते पनि दोस्रो सेट ६–४ ले टिङ होले आफ्नो पक्षमा पार्नु भएको थियो । तेस्रो सेट चलिरहँदा युल होले रिटायर्ड हर्ट हुँदै मैदान छाड्नु भयो ।
यता, ब्वाइज डबल्समा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३ ७–६(४) ले पराजित गर्दै उपाधि हात पार्नु भएको छ । दुई सातासम्म लगातार भएको प्रतियोगितामा १६ देशका ८० खेलाडीको सहभागिता थियो ।
विजेतालाई नेपाल टेनिसका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिस अध्यक्ष राजकुमार गुरूङ (राजु), नेपाल टेनिस सचिव अजय विष्ट, कास्की टेनिसका प्रथम उपाध्यक्ष नवीन चालिसे, द्वितीय उपाध्यक्ष नवीन श्रेष्ठ, कोषाध्यक्ष विष्णुबहादुर थापा, नेपाल नं १ टेनिस खेलाडी प्रदीप खड्का र आइटिएफ रेफ्री प्रविनकुमार नायकले मेडल वितरण गर्नु भएको थियो ।