• १३ असोज २०८१, आइतबार

अवरुद्ध सडक सुचारु गर्न खटिए जनप्रतिनिधि

blog

बाजुरा समाचारदाता

बाजुरा, असार ३१ गते । त्रिवेणी नगरपालिका क्षेत्रमा अवरुद्ध सडक सञ्चालन गर्न काममा स्थानीय जनप्रतिनिधि नै खटिएका छन् । असारको पहिलो सातादेखि लगातार परेको पानीका कारण अवरुद्ध सडक जनप्रतिनिधिले एस्काभेटर लिएर सडक सञ्चालन गराउन खटिएका हुन् । २०७५ देखि २०८० सम्म त्रिवेणी नगरपालिकाका नौ वटै वडा सडक सञ्जालले जोडिएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी दैनिक उपभोग्य सामग्री ल्याउन दुई घण्टा पैदल हिँडेर बूढीगङ्गा नगरपालिकाको बार्जुगाड र बाम्का बेतालमाण्डौँलगायतका बजारमा जान बाध्य छन् । 

बर्खे पानीका कारण त्रिवेणीको पीपलसेन ढँडाली पन्ताली हुँदै पैमा नाटेश्वरीसम्म जाने सडक अवरुद्ध बनेपछि सडक सञ्चालन गर्न धमाधम ग्राभेल हाल्ने काम भइरहेको त्रिवेणी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी शाहले बताउनुभयो । 

उहाँले भन्नुभयो, पछिल्लो वर्षमा रकम भुक्तानी दिने गरेर अहिले अवरुद्ध बनेका सडक खोल्न छ लाख रुपियाँमा बजेट छुट्याइएको बताउनुभयो । यसका साथै सडक सरसफाइ गर्नका लागि पाँच लाख विनियोजन गरिएको छ । मौरे जिरो प्वाइन्टदेखि खिरपाटासम्मका लागि दुई जना नगरपालिकादेखि सिम्लासम्म चार जना गरेर छ जना कर्मचारी सडक सरसफाइ गर्न खटाइने तयारी गरिएको पालिकाले जनाएको छ । सडक सामान्य बिग्रँदा आफैँले मर्मत गर्नुपर्ने र बढी भत्किएमा नगरपालिकालाई खबर गर्नुपर्ने छ । 

त्रिवेणी नगरपालिका–८, का वडाध्यक्ष गगनजङ्ग बुढाले त्रिवेणीका स्थानीयलाई बर्खाको समयमा पनि गाडीको सुविधा दिने गरी सडक मर्मत गर्ने काम भइरहेको बताउनुभयो । अवरुद्ध सडक सञ्चालन गर्ने र ग्राभेल हाल्ने काम भइरहेको बताउनुभयो । अहिले वडाध्यक्षसहितका जनप्रतिनिधिले डोजर लगाएर सडक मर्मत गर्न गालेपछि गाउँमा फेरि गाडी सञ्चालन भएको छ । बालबालिकालाई विद्यालयसम्म आउनजान सहज हुने गरी तोली देवल मावि, रत्न मावि, त्रिभुवनेश्वरी मावि नवदुर्गालगायतका विद्यालयहरूमा समेत सडक जोडिदिएको छ ।