• १३ साउन २०८१, आइतबार

प्रशोधित घाँस चीन निर्यात

blog

शान्ता अधिकारी

चितवन, असार ३१ गते । चितवनमा उत्पादित पशु आहार प्रशोधित घाँस (साइलेज/हाइलेज) चीनमा निर्यात सुरु भएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले शनिबार एक कार्यक्रम आयोजना गरी हाइलेज र साइलेज चीनको तिब्बतीय सहर सिगात्सेतर्फ पठाइएको हो ।

सन् २०२२ मा नेपाल सरकार र चीनको सिगात्से सहरबिच भएको औपचारिक सम्झौता अनुसार चिनियाँ व्यावसायिक कम्पनी नेपाल होराइजन इन्टरनेसनलले चितवनको भरतपुर–५ मा उत्पादन गरेको तीन सय टन हाइलेज पहिलो पटक चीन पठाइएको हो ।

मन्त्रालय, दूतावास र महानगरले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले घाँस निर्यात सानोतिनो कुरा हो जस्तो लाग्छ तर नेपालर चीनबीचको आयात निर्यातका लागि माइल स्टोन हुने बताउनुभएको थियो । उहाँले निर्यातको यो थालनीले नयाँ सम्भावनाको खोजी हुनेमा आफू विश्वस्त रहेको बताउँदै नेपालको विकास र समृद्धिका लागि चीनसँगको पारस्परिक सम्बन्ध महत्वपूर्ण हुने दाबी गर्नुभयो । उहाँले हाइलेज घाँस निर्यातले नेपालको आयात प्रतिस्थापन, व्यापार घाटा कम र निर्यात प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको बताउनुभयो । 

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालबाट हाइलेज चीनमा निर्यातको सुरुवात हुनु महत्वपूर्ण रहेको बताउनुभयो । कृषि उत्पादन निर्यातले नेपालको अर्थतन्त्र सबलीकरणमा मद्दत पुग्ने र हाइलेजको उत्पादन गर्नका लागि बाँझो जमिनको उपयोग हुने उहाँले बताउनुभयो । 

नेपालको लागि चिनियाँ राजदूत चेङसङ, उद्योग तथा व्यापार मन्त्रालयका सचिव मधु मरासिनी र कम्पनीका प्रमुख सिइओ चाङ, सिगात्से सहरका उपमेयर ल्युहङ र भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले कार्यक्रममा आफ्नो भनाइ राख्नुभएको थियो ।

कार्यक्रमसँगै घाँसका ट्रकलाई बिदाइ गरिएको थियो । सोही कार्यक्रममा ती सामग्रीको सेनेटरी सर्टिफिकेट उत्पादक कम्पनीलाई प्रदान गरिएको थियो ।

के हो साइलेज ?

हरियो घाँस बढी उत्पादन हुने समयमा उत्पादन लिई घाँसपातको कमी भएका बेला पशुबस्तुलाई खुवाउन तयार पारिने एक प्रकारको पशु आहारलाई साइलेज वा हाइलेज भन्ने गरिन्छ । 

विशेष गरी दुधिलो अवस्थाको मकैको जमिनमाथिको काण्डसहितको भाग, एकदलीय घाँसेबाली जसको डाँठ अलि मोटो र कडा खालको हुन्छ, त्यस्तोबाट साइलेज बनाइन्छ । 

चितवनमा २०७७ सालदेखि साइलेज बनाउँदै आएको अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष ऋषिराम चापागाईंका अनुसार प्रशस्त मात्रामा कार्बोहाइड्रेट र पानी भएको घाँसेबाली ज्वार, वाजरा, सुडान, नेपियर, सेटेरिया, रोड्स, दिनानाथ, उखुको टुप्पोबाट साइलेज बनाउन सकिन्छ ।

मेसिनले काटिएको र हावा नछिर्ने गरी प्लास्टिकमा मेसिनद्वारा प्याकिङ गरी बनाइएको पौष्टिक तत्वले भरिपूर्ण साइलेज मानिसले प्रयोग गर्ने सागपातबाट बनाइने गुन्द्रुक जस्तै परिकारको पशु आहार हो ।