• ६ जेठ २०८१, आइतबार

सुदूरपश्चिम प्रदेशको बजेट बहुमतले पारित

blog

प्रदेश सभा बैठकबाट बजेट पारित गरिँदै । तस्बिर: गोरखापत्र

अविनाश चौधरी

धनगढी, असार ३१ गते । सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८०-८१ को बजेट बहुमतले पारित भएको छ । गए राति बसेको प्रदेश सभाको बैठकले बहुमतबाट बजेट पारित गरेको हो ।

सभामुख भीमबहादुर भण्डारीले आर्थिक वर्ष २०८०-८१ को विनियोजन विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो । यसै गरी, सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक र आर्थिक वर्ष  २०८०-८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि बहुमतले पारित भएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने बैठकमा सहभागिता जनाएन । अर्को प्रतिपक्षी दलबाट राप्रपाका खेमादेवी विष्टको उपस्थिति थियो । उहाँले बजेटको विपक्षमा आफ्नो मत जाहेर गर्नुभएको थियो । 

यसै गरी, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रदेश सभा सचिवालयमा दर्ता गर्नुभएको खर्च कटौतीको प्रस्ताव निष्क्रिय भएको छ । प्रदेश सभा बैठकमा उहाँ अनुपस्थित भएको र अन्य कसैमार्फत प्रस्ताव प्रदेश सभा बैठकमा पेस नगरेकाले सभामुख भण्डारीले सो प्रस्ताव निष्क्रिय भएको सदनलाई जानकारी दिनुभयो । 

प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख रुपियाँको अनुमानित बजेट ल्याएको छ । चालुतर्फ नौ अर्ब ५९ करोड ६० लाख (३२.७९ प्रतिशत), पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख (५८.१६ प्रतिशत) बजेट विनियोजन गरिएको छ । यसै गरी, अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ दुई अर्ब ३४ करोड ७५ लाख (८.०२ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ३० करोड (१.०३ प्रतिशत) बजेट विनियोजन भएको छ ।