• २६ वैशाख २०८१, बुधबार

सुन्तला पकेट क्षेत्रमा दुई लाख बढी रकम अनियमितता

blog

राजकुमार भट्टराई
खोटाङ, असार ३० गते ।
खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सञ्चालित सुन्तला पकेट क्षेत्रमा अनियमितता भएको पाइएको छ । पकेट क्षेत्रको सुन्तलाको बिरुवा खरिदमा अनियमितता भएको पाइएको हो ।

आर्थिक वर्ष २०८९/०८० को प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमअन्तर्गत लिकुवापोखरी सुन्तला पकेट क्षेत्रलाई ५० प्रतिशत अनुदानमा १२ लाख रुपियाँ विनियोजन भएको थियो । स्थानीय सयपत्री कृषक समूहबाट सञ्चालन भएको सुन्तला पकेट क्षेत्रको काममा बिरुवा खरिदको बिल बढाएको पाइएको छ । ३५ रुपियाँ गोटा बिरुवा खरिद गरेर एक सय रुपियाँको बिल बनाएर कार्यक्रम फछ्र्योट गरिएको पाइएको हो । 

उपभोक्ता समितिले दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाबाट चार हजार पाँच सय बिरुवा खरिद गरेर कृषकहरुलाई वितरण गरेको थियो । प्रत्येक बिरुवाको एक सयका दरले बिल बनाएर समितिले कार्यक्रम फछ्र्योट गरिसकेको छ । तर सुन्तलाको बिरुवा याम्खास्थित राजेन्द्र राईको कृषि फर्मबाट ३५ रुपियाँका दरले खरिद गरिएको खुलेको छ । सुन्तलाको बिरुवा खरिदमा अनियमितता भएको थाहा पाएपछि कृषक विशोक राईले वडा कार्यालयमा निवेदन दिनुभएको थियो । निवेदन आएपछि वडाध्यक्ष धनबहादुर महाराजी खड्का, वडा सदस्यहरु, वडाका राजनीतिक दलका प्रतिनिधि, सुन्तला पकेट क्षेत्रका उपभोक्ता समितिका पदाधिकारी र कृषकहरु लगायतको उपस्थितिमा असार २८ गते वडा कार्यालयमा छलफलसमेत गरिएको छ ।

छलफलले बिरुवा खरिदमा अनियमितता भएको पुष्टि गरेको छ । बिलमा बढी देखाइएको प्रत्येक बिरुवाको ६५ का दरले दुई लाख ९२ हजार पाँच सय रुपियाँ अनियमितता भएको पाइएको हो । उक्त रकम सुन्लता पकेट क्षेत्रमा नै पुनः खर्च गर्ने गरी छलफलमा सहमति भएको वडा कार्यालयले जनाएको छ । तर कसरी खर्च गर्ने भन्ने उल्लेख छैन ।

सुन्तला पकेट क्षेत्रको कार्यक्रमका सुरु गर्न जेठमा कृषकहरुलाई पाँच दिने तालिमको आयोजना गरिएको थियो । सोही तालिममा सहभागि हुनुहुन्थ्यो स्थानीय बिशोक राई । पाँच दिने तालिम भनेर उपभोक्ता समितिले तीन दिनमै तालिम सकेपछि राईलाई कार्यक्रम प्रति शङ्का उत्पन्न भएको बताउनुहुन्छ ।

‘‘पाँच दिनको तालिम भनेर बोलाएपछि हामी सबै गयौँ, तीन दिनमै तालिम सकियो । तर कुन मितिमा सकियो भनेर तालिमको मिति नराखी हस्ताक्षर गराउन लगाइयो । मैले मिति नराखी हस्ताक्षर गर्न मानिन त्यसपछि मिति राखियो ।,’’ राईले भन्नुभयो, ‘‘त्यहाँदेखि मलाई कार्यक्रम प्रति शङ्का लागेको थियो, के कसरी खर्च हुन्छ भनेर सार्वजनिक सुनुवाइमा सुन्नु पर्ला भनेको थिएँ, तर सार्वजनिक सुनुवाइ नगरी वडाबाट बिल मिलाएर कार्यक्रम फछ्र्योट  गरिसकिएछ ।’’

कार्यक्रमको सार्वजनिक सुनुवाइ किन नगरेको भनेर प्रश्न गर्दा आफुहरुलाई त्यस्तो गर्नु पर्छ भनेर थाहा भएन भन्ने जवाफ उपभोक्ता समितिका सचिव तिलक महाराजीले दिएको राईको भनाइ छ । त्यसपछि राईले सचिव महाराजीसँग बुझ्दा बिरुवा एक सय रुपियाँ गोटाले खरिद गरेको बताइयो । बिरुवा बिक्री गर्ने व्यक्ति याम्खाका राजेन्द्र राईसँग बुझ्दा ३५ रुपियाँले लगेको भनेपछि वडा कार्यालयमा निवेदन दिएको बिशोक राई बताउनुहुन्छ ।

लिकुवापोखरीस्थित विणा माध्यामिक विद्यालयका कार्यालय सहयोगीसमेत रहेका सिताराम माहाराजी सुन्तला पकेट क्षेत्र उपभोक्ता समितिका अध्यक्ष हुनुहुन्छ । बिरुवा खरिदको बिल बढाएको स्वीकार गर्दै उक्त रकम समितिमा रहेको र सुन्तला पकेट क्षेत्रमै खर्च गरिने उहाँको भनाइ छ ।