भानुभक्तका पुर्खा खोज गर्दा कौडिन्य आचार्य वंशावली, किंवदन्ती र सेन राज्यको राजनीतिक इतिहासको अध्ययनबाट दैलेख जिल्लाका काशीराम प्रथम लम्जेल आचार्य देखिए। यिनका अठारौँ पुस्तापछि चार भाइमध्ये साहिँला गोकुल आचार्य लमजुङमा बसे। तिनका छोरा विश्वामित्र, विश्वामित्रका छोरा गया, गयाका छोरा सागरानन्द, सागरानन्दका माहिला छोरा सूर्योपाध्याय भए। नरनाथकृत भानु जीवनी (२०३६) को दोस्रो संस्करणले श्रीकृष्ण आचार्यदेखि माथि छैटौँमा मणिकण्ठोपाध्याय र दसौँमा सूर्याेपाध्यायको नाम रहेको छ। मणिकण्ठ भन्ने नाम पाल्पाको विसं १७४१ को अभिलेख देखिन्छ। यसले गर्दा भानुभक्तका कुनै पुर्खा दैलेख जिल्लाको लम्जीदेखि कास्की, लमजुङ र पाल्पा हुँदै तनहुँ आएको बताइन्छ।
सर्वप्रथम रङ्गनाथ शर्माले भानुभक्त मणिमाला (१९९८) को ‘परिचय’ मा विसं १८७१ आषाढ कृष्ण अष्टमी, आदित्यबार धन लग्न र जन्म नक्षत्रको नाम देवीभक्त भनी भानुभक्तको जन्ममिति उल्लेख गरे। भानुभक्तकी नातिनी विष्णुमायाले पनि रङ्गनाथसँग भएको टिपोट र श्लोकका आधारमा विसं १८७१ आषाढ २९ गते रविबार कृष्णपक्ष अष्टमी ३१ घडी ३२ पला भनी भानुभक्तको जन्म दिन र समय लेखिन्। अध्येताले ज्यौतिषीय अध्ययन गर्दा भानुभक्तको जन्म नक्षत्र (रेवती) को नाम देवीभक्त हुन सक्ने देखिएन, चि आद्याक्षर (चिन्तामणि) हुने देखियो। भानुभक्तका सन्तति र तिनका पुरेतले पनि चिन्तामणि भन्ने नामले भानुभक्तलाई तर्पण र पिण्ड दिएको बताए। यसर्थ रङ्गनाथको टिपोटमा भानुभक्तको जन्म नक्षत्रको नामसम्बन्धी पहिलो गल्ती रहेको छ।
विसं १८७१ को पात्रो हेर्दा त्यस सालको आषाढ कृष्ण अष्टमी जेठको ३१ गते र साउन कृष्ण अष्टमी आषाढ २९ गते परेको देखियो। यो रङ्गनाथको टिपोटमा रहेको दोस्रो गल्ती हो तर कुण्डली श्लोकलाई आधार मान्दा आषाढ कृष्ण नभएर साउन कृष्ण अष्टमी तिथि हो भन्ने बुझिन्छ। यहाँ दुई वटा गल्तीपछि भानुभक्तको जन्मसाल विसं १८७१ वा विसं १८६९ भन्ने अर्को गल्ती हुन सक्ने आशङ्का उब्जिएको छ। किनभने मोतीरामको खोजले भानुभक्तको जन्म विसं १८६९ हो भनेको छ। यसलाई खुट्याउन एकातिर ज्यौतिषीय अध्ययन र अर्कोतिर रङ्गनाथका सन्ततिका घरमा पुराना कागतपत्र खोजी परीक्षण गर्नुपर्ने देखिएको छ।
मोतीराम भट्टले विसं १८९१ को ‘घाँसी’ कवितालाई भानुभक्तको प्रथम कविता मानेका छन् र ‘बालकाण्ड’ रामायणलाई भानुभक्तका प्रारम्भिक कविता बनाएका छन्। भानुभक्तको काव्ययात्राको अध्ययनबाट मोतीरामको कथनमा सत्यताको अंश देखिन्न। किनभने विसं २०६३ मा दैवज्ञराज न्यौपानेको ‘भानु दर्शन’ (वर्ष ३२, अङ्क १, पूर्णाङ्क ७) अनुसार र प्राडा वासुदेव त्रिपाठी निर्देशित भद्रवीर अधिकारीको ‘नेपाली कविताका विकासमा भानुभक्त आचार्यको योगदान’ (विसं २०६३) शीर्षकको शोध प्रबन्ध अनुसार ‘घाँसी’ कविता र ‘बालकाण्ड’ भानुभक्तका सुरुका कविता होइनन्। यसभन्दा अगाडि भानुभक्तले सर्वप्रथम “केश् कन्चट कुहुनू कपाल् र कलनेजो... ” जस्ता केही मुक्तक प्रकृतिका कविता लेखिसकेको देखिन्छ।
भानुभक्तको कानुनी शिक्षा र पाल्पा बसाइ देखाउने विसं १९१७ चैतदेखि विसं १९२३ फागुन १७ गतेसम्म लेखिएका छ वटा तर्तमसुक, इजहार र ‘अग्रदूत’ (२०७०) भन्ने कृति छन्। यिनले भानुभक्लाई कानुनी लेखन र अड्डा अदालत बुझेका सिद्धहस्त लेखन्दास देखाउँछन्। देहावसानपूर्व सात/आठ वर्ष अगाडिदेखि लेखिएका तर्तमसुक र इजहारले भानुभक्तलाई अदालत बुझेर यो दक्षता प्राप्त हुने अवसर दिँदैनन्। चुँदीरम्घा मा बसेर वा काशीमा पढेर यो सिद्धहस्त दक्षता प्राप्त हुन सक्दैन।
भानुभक्तलाई यो दक्षता प्राप्त गर्न पाल्पामा बस्ने बाबु धनञ्जयको निकटता र भाषा सिकाइको सिद्धान्त अनुसार गरिने भाषिक अभ्यास र पुनरावृत्तिको आवश्यकता पर्छ। विसं १८९० देखि भानुभक्तलाई पाल्पा बसाइबाट धनञ्जयको निकटता, दरबारिया भाषाको अभ्यास तथा कानुनी अध्ययन र अभ्यासको अवसर प्राप्त भएको बुझिन्छ। यसर्थ विसं १८९० पछि भानुभक्त काशीबाट तनहुँ आएपछि पाल्पाका दरबारिया प्रशासक र कानुनी लेखापढीसँग उनको सम्पर्क हुन पुगेछ।
विसं १८९८ मा तर्जुमा भएको मानिने रामायण बालकाण्डमा पाल्पाली नामयोगी र दरबारिया भाषाको प्रयोग हुनु तथा काशीबाट फर्किएको १२ वर्षपछि पहिलो सन्तान रमानाथ आचार्य (१९०२–१९६८) को जन्म हुनुले भानुभक्त आचार्य तनहुँ चुँदीरम्घा मा लगातार बसेको देखिन्न। यसमा अस्वस्थ र पेटका रोगी धनञ्जय आचार्यलाई सहयोग गर्न परेको हुँदा भानुभक्तको चुँदीरम्घा बसाइमा निरन्तरता रहेन। पाल्पामा जनरल रणवीरसिंह थापा (१८९०–१८९४), काजी रणदल पाँडे (१८९४–१८९७), काजी सिंहवीर पाँडे (१८९७–१८९८), पुनः काजी रणदल पाँडे (१८९८–१८९९), चौतारिया गुरुप्रसाद शाह र चौतारिया खड्गविक्रम शाह (१९००–१९०१), त्रिविक्रमसिंह थापा (१९०१–१९०२), चौतारिया गुरुप्रसाद शाह (१९०२–१९०३) र कम्यान्डिङ कर्नेल कृष्णबहादुर कुँवर (१९०३–१९०६) हरू प्रशासक देखिन्छन्।
पाल्पा बसाइ, यिनीहरूसँगको सम्पर्क र संवादले भानुभक्तलाई विसं १८९८ मा लेखिएको भनिने रामायणको ‘बालकाण्ड’ मा थिं, थ्यैँ जस्ता पाल्पातिरका नामयोगी, दरबारिया तथा अत्युच्च आदरार्थी शब्दको प्रयोग सामथ्र्य दिएको बुझिन्छ। यसलाई पुष्टि गर्दै पाल्पाका पुष्कर अथक रेग्मीले ‘अग्रदूत’ (२०७०) कृतिमा पाल्पाली कवि छविलाल नेपाल (दीननाथका छोरा) को जीवनीभित्र भानुभक्तले दीननाथ सँगसँगै जागिर खाएको, मितेरी सम्बन्ध राखेको र दीननाथकै घरमा डेरा गरी बसेको बताएका छन्। भानुभक्त विसं १९०१ कात्तिकमा मामा जयलाल पौडेलका सालीको छोरो कलाधर ब्राह्मणलाई मन्त्र सुनाउन गएका थिए। भानु जीवनी लेखकले कलाधरलाई कसैले जयलालको छोरो वा कसैले भदा सालो बताएका छन्। मोतीरामले भने यी दुईबिच सम्बन्ध बताएका छैनन्। यथार्थमा जयलालका सन्तान थिएनन् र मूल नक्षत्रमा जन्मेका सालीको छोरा कलाधरलाई जयलालले आफ्नो घरमा हुर्काइ पढाइ लेखाइ गराएका रहेछन्। पछि सरकारी जागिर खुवाइ डिठ्ठासम्म भएको कुरा उनका घिमिरे सन्ततिले बताउँदै आएका छन्।
भानुभक्तले छोरा रमानाथ आचार्यलाई ... पौष बदी ५ रोज १ मा लेखेको चिठीको बेहोराले काशी मणिकर्णिका घाटमा धनञ्जय आचार्यको देहावसानको समय अवगत हुन्छ। हाल हस्तलिखित बेहोरा प्राप्त नभए पनि त्यसको अंश विसं २००५ कात्तिक १५ को ठेली १ सङ्ख्या २ भएको ‘नेपाल शिक्षा’ भन्ने सरकारी पत्रिकाको पृष्ठ २४ मा प्रकाशित छ। यसलाई पछिल्ला भानु जीवनी लेखकहरूले धनञ्जयको देहावसान मिति भनेर उल्लेख त गरेका छन् तर ... पौष बदी ५ रोज १ कुन विक्रम संवत्मा पर्छ भनी खुट्याएका छैनन्। अध्ययन क्रममा पुराना पात्राहरू हेर्दा भानुभक्तले रमानाथलाई लेखेको उक्त चिठीको उल्लिखित मिति विसं १९०४ पौष १३ गते कृष्णपक्ष पञ्चमी आदित्यबारका दिन परेको देखियो।
भानुभक्तले विसं १८९८ देखि विसं १९०५ सम्म “गजाधर सोतीका घरबुढि अलच्छिन्कि रहिछन्” बाहेक अन्य कविता लेखेनछन्। किनभने विसं १८९८ देखि धनञ्जयको काममा सहयोग, कानुनी अध्ययन र अभ्यास, प्रशासकसँगको सान्निध्य, धनञ्जयको देहावसान र जागिरका कारण भानुभक्तले विसं १८९८ देखि १९०५ भित्र अन्य कविता लेखेको देखिन्न। विसं १९०४ पौषतिर धनञ्जयको देहावसान भएपछि भानुभक्त र गिरिधारीबिच बगर खेतको साँधसीमासम्बन्धी मुद्दा परेको छ। मुद्दामा भानुभक्त पहाडतिरका अड्डामा कति समय झुले उल्लेख भेटिँदैन तर विसं १९०६ मा यो मुद्दा लिएर उनी काठमाडौँ पुगेको देखिन्छ। मोतीरामले भने विभिन्न खोजतलास गर्दा यस समयमित्र भानुभक्तका कविता फेला नपरेको बताएका छन्।
जङ्गबहादुरले विसं १९०६ को पौष–माघतिर १ वर्षे बेलायत यात्रा गर्ने निधो गरे। यही सालको शरद ऋतुमा पाल्पाका प्रशासक जनरल कृष्णबहादुर काठमाडौँ झिकाइए र निजामती विभागको प्रमुख बनाइए। यही समयमा भानुभक्तले गिरिधारीसँग भएको बगर मुद्दाको फिराद पत्र दिए। उनले मान (जागिर) पाउँला कि भनेर तत्कालीन निजामती विभागका प्रमुख जनरल कृष्णबहादुरको चाकरी गर्न थाले। चाकरीदेखि खुसी भएर कृष्णबहादुरले पनि भानुभक्तलाई विसं १९०७ वैशाखमा तराई मधेशतिरको जागिर दिएछन्। जागिर खाएको देखीजान्ने व्यक्ति धर्मदत्त ज्ञवाली हुन्, जो मोतीराम भट्टका देखीजान्ने स्रोतसाक्ष्य र भानुभक्तका परम मित्र तथा सहकर्मी थिए। तिनताका हरेक साल साउन–भदौ महिनातिर जागिरको पजनी हुन्थ्यो। विसं १९०९ को साउन–भदौतिरको पजनीमा भानुभक्तको जागिर खोसियो।
विसं १९०७ को माघमा जङ्गबहादुर थापाथली दरबारमा भित्रिएपछि बेलायत यात्राको एक वर्षे कार्यकालमा भाइहरूद्वारा दिएका मानिसको जागिर खोस्ने आदेश जारी गरे। भानुभक्तको जागिर पनि यही मेसोमा खोसिएको देखिन्छ। भानुभक्त १९०९ सालको कात्तिक महिनातिर कुमारीचोक बुझाउन काठमाडौँ पुगे। यसर्थ विसं १९०४ पौषतिर देहावसान भएका बाबुको बरखी फुकेपछि विसं १९११ तिर वा १९१० तिर बाबुकै सरकारिया बाँकीमा भानुभक्त कुमारीचोकमा थुनिएका हुन् भन्ने भानु जीवनी लेखकहरूको भनाइमा प्रामाणिकता भेटिन्न।
भानु जीवनीहरूमध्ये कसैले श्री ३ कम्यान्डर इनचिफ, कसैले इनचिफ र कसैले कम्यान्डर इनचिफ कृष्णबहादुरलाई भानुभक्तले चाकरी गरेको वा श्लोक लेखी बिन्ती चढाएको उल्लेख गरेका छन्। नेपालको इतिहास अध्ययन गर्दा विसं १९१४ पूर्व जङ्गबहादुरका माहिला भाइ बमबहादुर राणा नै कम्यान्डर इनचिफ वा इनचिफ देखिन्छन्। यसर्थ विसं १९१४ सम्म भानुभक्तले चाकरी गर्दा कम्यान्डर इनचिफ कृष्णबहादुरको होइन कि जनरल कृष्णबहादुरको चाकरी गरेका छन्।
तनहुँसुरमा बस्ने नैयाँहरू भानुभक्तका पुर्खाको अर्चले स्वाँरा भन्ने जग्गा उपभोग गर्थे। सोबापत हरेक वर्ष नैयाँहरू भानुभक्तका सन्ततिको घर मङ्सिर महिनामा बेठ बेगार तिर्न आउँथे। यो कुरा हाल भानुका ज्येष्ठ सन्ततिहरू बताउँदै छन्। कुनै जीवनीकारले छोरा रमानाथ, शिवशङ्कर र छोरी लक्ष्मी गरी तीन जना भानु सन्तति बताएका छन् तर सन्ततिमा दुई छोरा मात्र देखिन्छन्, छोरी देखिन्नन्। जीवनीकारले तनहुँकै कलेस्ती गुर्जु खलकमा लक्ष्मीको विवाह भएको थियो भनेका छन्।
गुर्जु खलकको तर्पण पिण्ड दिने पितृ र भानुभक्तका पनाति मुक्तिनाथ लिखित भानुभक्तको वंशावलीको अध्ययन गर्दा लक्ष्मीको नाम देखिएन । बरु गुर्जु खलकमा रमानाथकी माहिली छोरी इन्द्रमायालाई विवाह गरेको देखिन्छ। भानुभक्तले रमानाथलाई विसं १९१९ वैशाखमा लेखेको चिठीमा दुम्सीका लक्षोमन थापासहित अन्य मगरले आफ्नो सुर बाँधिदिएको बताएका छन्। यसबाट तनहुँ दुम्सीका लक्षोमन थरी र अन्य मगरसँग भानुभक्तको राम्रो सम्बन्ध रहेको देखिन्छ।
विसं १९२२ मा भानुभक्त र गिरिधारी रानाभाटबिच भएको बाँधकुलोसम्बन्धी झगडासँग सम्बन्धित भानुभक्त लिखित एउटा खेस्रा प्रतिवादी पत्र हेर्दा पुरानो बाँधकुलामा पानी चली खेत रोपेको कुरा लेखिएको छ। त्यस अनुसार भानुभक्तकै साहिँला बाबुका छोरा गौरीदत्त, ठाहिँला बाबुका छोरा वेद शर्मा र कान्छा बाबुका छोरा चतुर्भुजहरू मिलेर पानी चलाई खेत रोप्ने काम गरेछन्। भानुभक्तले भने अज्र्याल, भाट, ढकाल र अन्य अचार्ज थरका मोही मिलेर विसं १९२१ मा नै नयाँ बाँधकुलोबाट पानी चलाई खेत रोपेको बताएका छन्। पुरानै बाँधकुलाबाट पानी चलाई खेत रोपिएको हुँदा पछि लगाएको र खनेको बाँधकुलो आवश्यक छैन भनी गिरिधारीले भानुभक्तसँग झगडा गरेका रहेछन् भन्ने त्यस खेस्राले प्रस्ट्याउँछ। भानुभक्तका भाइहरूले पुरानो बाँध लगाएर पुरानै कुलामा पानी नचलाएको भए गिरिधारी रानाभाटले भानुभक्तसँग झगडा गर्ने अवस्था आउने थिएन भन्ने देखिन्छ।
रमानाथलाई विसं १९१९ वैशाख ४ गते लेखेको चिठी र राष्ट्रिय अभिलेखालयस्थित भानु हस्तलिखित रामायण हेर्दा भानुभक्तले मृत्युशøयाबाट ‘रामगीता’ को प्रथम लेखन गरेको बुझिन्न। एकातिर उक्त चिठीमा भरिवैशाखमा रामायण लेखिसक्ने उल्लेख छ भने अर्कातिर मोतीरामले मृत्युशøयाबाट लेखाएको ‘रामगीता’ धर्मदत्तसँग अद्यापि छँदै छ भनेका छन्। विसं १९२५ मा धर्मदत्तले उत्तरकाण्डको ‘रामगीता’ भाषानुवाद गर्नू भनेको हुँदा काठमाडौँबाट घर पुगी बिरामी भएपछि मृत्यशय्यामा बसी भानुभक्तले धर्मदत्तका निम्ति आफ्नो हस्तलिखित रामायणभित्रकै कण्ठस्थ ‘रामगीता’ आफूले भन्दै रमानाथलाई द्वितीय लेखन गराएको बुझिन्छ । किनभने भानुभक्तको पुख्र्यौली घरका पुस्तकमा पनि संस्कृत भाषाको अलग ‘रामगीता’ देखिएको छ। यसबाट धर्मदत्तले संस्कृत भाषामा जस्तै नेपाली भाषामा पनि ‘रामगीता’ बनाउन लगाएको अवगत हुन्छ।
लेखक त्रिविका अवकाश प्राप्त प्राध्यापक हुनुहुन्छ।