राजनीतिक अभ्यास भनेको नागरिकलाई सत्ता सञ्चालनकर्ता (नेतृत्व) र सत्ता सञ्चालनको प्रक्रियासँग जोड्ने विधि हो । राजनीतिक सङ्गठन निर्माणको आधार भनेकै विचार र भावना मिल्नेको सामूहिक चाहना हो । यो आधारभूत कुराले पनि राजनीतिलाई आपसी मिलन वा सहकार्यको पहिलो खुड्किलो हो । प्रत्यक्ष लोकतन्त्रको अभ्यासकालीन समयमा सबै सँगै बसेर सामूहिक छलफल गर्ने र निष्कर्ष निकाल्ने गरिन्थ्यो भने प्रतिनिधिमूलक लोकतन्त्रको अभ्यासमा प्रतिनिधिको चुनाउ हुने र उनीहरूले जनताको भावनाको प्रतिनिधित्व गर्दै छलफलमा भाग लिने विश्वास गरिन्छ । जनताले प्रतिनिधि चुन्दाखेरी आफ्नो भावना र विचार मिल्नेलाई चुन्छन् । प्रत्यक्ष लोकतान्त्रिक अभ्यासको विकसित र व्यावहारिक रूप हो अहिलेको बहुदलीय संसदीय राजनीति अभ्यास । नेपालले यही राजनीतिक पद्धतिको अभ्यास गर्दै आएको छ र यसै पद्धतिबाट अगाडि बढ्ने कुरामा समकालीन राजनीतिक दलहरूको प्रतिबद्धता आइरहेका पनि छन् ।
राजनीति भनेको नागरिक र सत्ताका बिचको सम्बन्ध स्थापित गर्न अधिकतम प्रयत्न गर्ने प्रक्रिया हो । यसले सबैलाई जोड्ने ध्यये राखेको हुन्छ । दलको अभ्यास पनि सबैलाई जोड्न सक्ने ‘फोरम’ को निर्माण गर्ने मनसायबाट सुरु भएको हो । नागरिकलाई दलहरू छान्ने अधिकार दिनु भनेको विचार र भावना अनि मुद्दामा सहकार्य गर्नका लागि उनीहरूलाई अभिप्रेरित गर्नु हो । यी सबै सन्दर्भले नागरिकलाई सङ्गठित हुँदै सत्ता निर्माणको प्रक्रियासम्म जोडिनका लागि अवसर दिइरहेको हुन्छ । एक्लो व्यक्तिको आवाज नसुनिन सक्छ तर त्यो आवाजले साथ पायो र समूह बन्यो भने त्यसको कार्यान्वयन सम्भव छ । बिपी कोइरालाले आफ्नो एउटा अन्तर्वार्तामा भनेका छन्, ‘दलहरूको विचार र एजेन्डा हुन्छ, हाम्रो दलले जित्यो भने यो गर्र्छौँ भन्ने हुन्छ । महाकालीदेखि मेचीसम्मका उम्मेदवारले दलको कुरा गर्छन् तर निर्दलीय उम्मेदवारले केको आधारमा भोट माग्ने ? म यो जातको, यो ठाउँको, यति वर्षको भनेर भोट माग्ने ? फेरि उसले जितिहाल्यो भने एक्लै के गर्छ ? त्यस कारण दल चाहिन्छ, जसले जनतालाई जोड्न सक्छ, जनताको विश्वास लिन सक्छ ।’ यो भनाइले पनि दलहरूको उपस्थिति जनताको सामूहिक भावलाई मुखरित गर्न अनिवार्य छ भन्ने देखाउँछ ।
दलहरू फरक फरक हुनु र रोज्न पाउनु भनेको राष्ट्रिय भावना निर्माणको प्रक्रिया पनि हो । भावना र विचार मिल्ने व्यक्तिहरूको दल हुन्छ र ती दलबिचको न्यूनतम साझा मुद्दा राष्ट्रिय भावना बन्छ । राष्ट्रिय भावनाको अभावमा दलबिच अस्वस्थ प्रतिस्पर्धा हुन्छ र त्यसले नागरिकलाई जोड्नेभन्दा ध्रुवीकरण गर्ने काम गर्छ । राजनीतिको असल अभ्यास हुन सकेन भने त्यसले अनावश्यक ध्रुवीकरण निम्त्याउँछ र अस्वस्थ प्रतिस्पर्धाले राजनीतिलाई गलत दिशामा लैजान्छ । यसो हुँदा राजनीति टाठाबाठा, धनीमानी, स्वार्थी समूह र शक्तिको उन्मादमा रमाउने वर्गमा राजनीति केन्द्रित हुन्छ । त्यस कारण यसो हुन नदिनका लागि राजनीतिक अभ्यासभित्रबाट न्यूनतम सहमतिको खोजी गर्ने संस्कृतिलाई सधै प्रवर्धन गर्नु पर्छ । नेतृत्वका लागि यो संवेदनशील र अनिवार्य दायित्व हो ।
नेपाली राजनीतिमा न्यूनतम साझा सहमतिको खोजी गर्दै राष्ट्रिय भावनाको निर्माण गर्ने संस्कृति बसाल्नेतर्फ बिपी कोइराला प्रस्ट देखिनुहुन्थ्यो । नेपाली राजनीतिमा उहाँको अभूतपूर्व र अतुलनीय योगदान छ । उहाँका योगदानका सन्दर्भमा विभिन्न कोणबाट चर्चा पनि हुने गरेको छ तर पनि उहाँले अँगालेको यो मिलापको संस्कृति भनौँ अथवा राष्ट्रिय भावना निर्माणको संस्कृतिको सन्दर्भमा कमै चर्चा भएको पाइन्छ । ।
२०३३ सालको मेलमिलापको नीति त्यस्तै राष्ट्रिय भावनाको विकासको एउटा उच्च प्रयत्न थियो । आफ्नो मुख्य लडाइँ राजासँग छ तर उनै राजालाई मिलापको प्रस्ताव गर्दै उहाँ आउनुहुन्छ । जबकि फाँसीसम्मको सजाय हुने मुद्दा उहाँमाथि लागिरहेको थियो । त्यो प्रस्तावको मर्म भनेकै घरेलु शक्तिबिचको मिलाप थियो । त्यो पनि साझा मुद्दामा मात्र । बिपीले प्रस्ट भन्नुभएको थियो, “राष्ट्रियताका लागि राजासँग मिल्न सकिन्छ तर प्रजातन्त्रका लागि राजासँगको मेरो लडाइँ जारी रहने छ ।” यसले घरेलु शक्तिबिचको एकताका लागि साझा विन्दुको खोजी नै त्यो प्रस्तावको वा मेलमिलापको नीतिको प्राण हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।
जनमतसङ्ग्रहमा बहुदलको पराजय भए पनि पक्षमा देखिएको मतको संरक्षण गर्ने दायित्वबोध गर्दै बिपीले त्यसपछिको पञ्चायती चुनावमा भाग लिने कि नलिने भन्ने सन्दर्भमा जनताको राय लिने रणनीति बनाउनुभयो । बिपी र गणेशमान त्यसका लागि झापाबाट अभियान सुरु गर्दै हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराई यो कुरामा त्यति सहमत हुनुहुन्थेन । बिपीले भन्नुभयो, “तपाईंको असहमति प्रकट नगर्नु, हामी राय बुझेर आएपछि धारणा बनाउँला ।” किसुनजीले ‘हस्’ भन्नुभएको थियो । त्यत्तिकैमा केही विदेशी पत्रकारले यो विषयमा किसुनजीको धारणा लिनका लागि उहाँलाई भेटे । किसुनजीले ‘भोलि आउनु’ भनी फर्काइदिनुभयो र झापाको प्लेन टिकट लिएर बिपी र गणेशमानसँगै त्यो अभियानमा जोडिनुभयो । उहाँलाई लाग्यो ‘अब बिपी र मेरो मतभेद देखाएर कांग्रेसभित्र कोही खेल्दै छन् ।’ त्यसपछि उहाँ आफ्नो त्यो असहमति त्यागेर अभियानमा जोडिनुभयो ।
यी सन्दर्भले पनि के देखाउँछ भने आन्तरिक विषयमा एक ठाउँ नहुने हो भने ती शक्तिहरूका बिचमा खेल्ने समूह सक्रिय हुन्छन् र राजनीतिमा अस्वस्थ अभ्यास अनि अनावश्यक धु्रवीकरण निम्तिन्छ भन्ने कुरामा नेतृत्व स्पष्ट हुनु पर्छ । अहिलेको नेपाली राजनीतिले आन्तरिक मिलापको अभ्यासलाई प्राथमिकता लिएको देखिँदैन । राष्ट्रिय भावनाको निर्माणका लागि कुनै गम्भीर बहस, छलफल भएकै छैनन् । त्यस्तो विषय खोज्ने काम पनि हुन सकिरहेको छैन । स्थायित्वको नाममा सत्तामा जाने कुराभन्दा अरू साझा मुद्दा नै बन्न वा खोजिन सकिरहेका छैनन् । दलहरूका बिचमा हुने संवाद पनि यो विशाल उद्देश्यका लागि भइरहेको छैन । आफूलाई थुन्ने राजासँग राष्ट्रियताका सवालमा मिल्न सकिन्छ भनेर न्यूनतम सहमति खोजेर संसारलाई चकित पार्ने इतिहास रचेको नेपालले आफ्नो त्यो मौलिक र असल राजनीतिक अभ्यासलाई अनुसरण गर्न किन सकिरहेको छैन ? यो अभ्यासको अभावमा बिपी कोइरालालाई स्मरण गर्ने कुरा औचित्यपूर्ण हुन सक्दैन । ५० वर्षअघि बिपीले अद्भूत रूपमा देखाउनुभएको एउटा प्रदर्शन विश्वकै लागि नमुना थियो । नेलसन मन्डेलाले गोरा जातिको मानिसलाई आफ्नो उपराष्ट्रपति बनाएर त्यस्तै अर्को मिलापको संस्कृति प्रदर्शन गर्नुभएको थियो । नेपालले आजका दिनमा बिपी कोइरालाबाट सिक्ने कुरा भनेकै मिलापको संस्कृति हो ।
बिपीले स्थापना गरेको पार्टीले यो संस्कृतिको प्रवर्धन, अनुसरण र अभ्यास गर्नुपर्ने हो तर आफैँमा गुटबन्दीले आन्तरिक एकता नै कायम गर्न सकिरहेको छैन । गुटले जरजर भइरहेको छ । पार्टीभित्र समेत साझा धारणा बनाउन हम्मेहम्मे गरिरहेको छ । बुद्धिमान कि धनमान ? भन्ने अनावश्यक बहसमा जाकिँदै छ । अनुशासनका नाममा भएको कारबाहीले अझै समस्या थप्दै छ ।
बिपी कोइरालाले संसारलाई सन्देश दिने गरी घरेलु शक्तिबिचको एकतालाई प्रधान पक्ष मान्नुभयो । त्यसको अभ्यास पनि गरेर देखाउनुभयो । २०३३ सालमा घरेलु शक्ति भनेकै राजा र प्रजातन्त्रवादीको शक्ति थियो । त्यस कारण बिपीको मेलमिलापको प्रस्तावलाई राजासँगको मिलापको प्रस्ताव मात्र भनेर व्याख्या गरियो भने त्यो अपूर्ण व्याख्या हुन्छ । सापेक्षतामा त्यसलाई हेरिनु पर्छ । अहिलेका घरेलु शक्ति भनेका बहुदलीय प्रतिस्पर्धा गर्दै आएका दलहरू नै हुन् । उनीहरूबिचको एकता नै अहिले घरेलु शक्तिबिचको एकता हो । यसरी एकताको खोजी गर्दा बिपीले राजासँगको एकताको प्रस्ताव गर्दाको जस्तो चुनौति अथवा खतराको सम्भावना देखिँदैन ।
संविधानप्रति साझा धारणा बनिसकेको अवस्थामा त्यसको सही र सहज कार्यान्वयन, भ्रष्टाचार विरोधी र सुशासनको पक्षमा साझा रणनीति निर्माण, लोकतन्त्रलाई मजबुत गराउन आवश्यक संरचनालाई सबल गर्ने कुरा, अनावश्यक दलीय हस्तक्षेपलाई निषेध गर्ने साझा सङ्कल्प अहिलेका सवाल हुन् । यी कुरामा सहमति खोज्न कुनै प्रकारको जोखिम मोल्न पनि पर्दैन । त्यस कारण बिचौलिया र स्वार्थ समूहबाट टाढा रहेर राजनीतिको प्रमुख लक्ष्यप्रति स्पष्ट भएर अगाडि बढ्ने हो भने हामीले अझै पनि राजनीतिलाई सही मार्ग प्रदान गर्न सक्छौँ भन्ने आत्मविश्वास राजनीतिक नेतृत्वमा जागृत हुन आवश्यक छ । साउन ६ गते बिपीलाई स्मरण गर्दैगर्दा उहाँको यो मिलापको संस्कृतिको अनुसरणको सङ्कल्प गरौँ, यसले हामीमा नवीन मार्गमा हिँड्नका लागि अभिप्रेरित गर्ने छ । यो अभिप्रेरणाले मात्र सही गन्तव्य पछ्याउने छ ।