अर्जुन काफ्ले
स्याङ्जा, साउन ५ गते । आर्थिक वर्ष ०८१/०८२ मा स्याङ्जाबाट एकै वर्षमा २९ जना नेपाली नागरिकले नागरिकता त्याग गरेका छन् ।
नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै नौ जनाले अमेरिकी र पाँच जनाले बेलायती नागरिकता लिएका हुन् । यस्तै क्यानडा र हङकङ तीन/तीन जना, दुई/दुई जनाले अस्ट्रेलिया, पोर्चुगल र भारतको नागरिकता लिएका छन् ।
यस्तै नेपाली नागरिकता परित्याग गरेर जापान, फिन्ल्याड र नर्वेको एक एक जनाले नागरिएका लिएका हुन् । विसं. २०६७/२/३ देखि असार मसान्तसम्म १०६ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।
डीभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । उहाँले विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताउनुभयो ।
राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउँदै विदेशी मुलुक छिरेका नेपाली नागरिक पछि उतै रमाउने र अन्ततः उतैका नागरिक भएर बस्ने गरेका हुन् । यस्तै यहाँ एक जनाले हङकङको नागरिकता त्याग गरेर नेपाली नागरिकता लिनुभएको छ ।
यस्तै यस आर्थिक वर्षमा १६ जना भारतीयले अङ्गीकृत नेपाली नागरिकता लिएका छन् भने २० जनाले गैर आवासीय नेपाली नागरिकता लिएका छन् ।
नेपाली युवासँग विवाह गर्ने विदेशी युवतीले वैवाहिक अङ्गीकृत नागरिकता लिएका हुन् भने नेपालबाट विभिन्न कारण विदेश गएका र लामो समय बसेर विदेशको नागरिकता पाएका र नेपालको परित्याग गरेकालाई यो नागरिकता प्रदान गरिएको हो ।
गैर आवासीय नेपाली नागरिकता लिनेलाई नेपालको राजनैतिक अधिकार र सरकारी जागिरको अवसर बाहेक सबै सेवाहरु व्यापार व्यवसाय, घर जग्गा खरिदलगायतका कारोबार गर्न पाउने सप्रजिअ पौडेलले बताउनुभयो । यस्तै, यसै आवमा १० जनाको नागरिकता र एक जनाको प्रतिलिपि नागरिकता रद्द प्रशासनले गरेको छ ।
आर्थिक वर्ष ०८१ /०८२ स्याङ्जाबाट वंशजतर्फ सात हजार ८५५ नयाँ, प्रतिलिपि आठ हजार ४८१, अङ्गिकृत १६ र गैरआवासीय गरेर १६ हजार ३७२ जनाले नागरिकता लिएका छन् । यस्तै ११ हजार भने ११ हजार ८४२ राहदानी सिफारित भएको छ ।