काठमाडौँ, साउन ५ गते । भारतको गोवामा सोमबारदेखि सुरु भएको २४औँ विश्व व्यक्तिगत चेस च्याम्पियनसिपमा नेपालका विश्वविजय घिमिरेले प्रतिस्पर्धा गर्नुभएको छ ।
शारिरिक रुपमा अशक्त चेस फेडेरेसन र विशेष रुपमा सक्षम गोवा चेस एसोसिएसनको संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिहरुको लागि विश्व च्याम्पियनसिप आयोजना गरिएको हो ।
जुलाई ३१ तारिखसम्म सञ्चालन हुने च्याम्पियनसिपको गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले उद्घाटन गर्नुभएको छ । विश्व बुद्धिचाल महासङ्घको आधिकारिक यस च्याम्पियनसिपमा नेपालको तेस्रो सहभागिता हो ।
यसअघि सन् २०२४ मा नेपाल च्याम्पियन रुपेश जैशवालले अजरबैजानमा भएको वर्ल्ड साइकल छनोटमा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।
यस्तै सन् २०२४ कै काजाकिस्तानमा भएको वर्ल्ड युथ क्याडेट च्याम्पियनसिपमा त्रियोग उच्च माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गरेका थिए ।
यस च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय आविर्टर यज्ञप्रसाद पन्तले निर्णायकको भूमिकामा निर्वाह गर्नुहुनेछ । चेसको कुनै पनि विश्व च्याम्पियनसिपमा निर्णायकको रुपमा नेपाली आर्विटरको यो पहिलो सहभागिता हो ।
च्याम्पियनसिपमा आयोजक भारतसहित, नेपाल कजाकिस्तान, चीन, इजरायल, फ्रान्स, रुस, पोल्यान्ड, स्लोभाकिया, हङ्गेरी, चेकोस्लाभाकिया, मङ्गोलिया, फिलिपिन्स, अवरबैजान, उब्जेकिस्तानलगायत देशहरुका ९७ जना खेलाडीको सहभागिता छ ।
च्याम्पियनसिपमा नेपाली खेलाडीलाई हौसला प्रदान गर्न नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हेराकाजी महर्जन र खेलाडी राजभाई महर्जन पनि गोवा पुग्नुभएको छ ।