गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भ्रमणको तयारी अघि बढाएको हो ।
मन्त्रालयले के के विषयमा छलफल हुने भन्ने विषयमा पनि गृहकार्य गरिरहेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भन्नुभयो, “प्रधानमन्त्रीको भारत भ्रमण अपेक्षित नै हो । अब भ्रमण हुन्छ भन्न सकियो । भ्रमण हुने निश्चित पनि भयो । मन्त्रालयले भ्रमणको तयारीका सन्दर्भमा गर्नुपर्ने काम सुरु गरिसकेको छ । भ्रमणको मिति, कार्यतालिका र छलफलका विषय एवं प्रस्ताव उपयुक्त समयमा सार्वजनिक गरिने छ ।”
यसै गरी भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले दिल्लीस्थित नेपालको राजदूतावास र काठमाडौँस्थित भारतीय राजदूतावासबिच प्रधानमन्त्री ओलीको भारत भ्रमणका सन्दर्भमा समन्वय भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल र भारतबिचको सम्बन्धलाई अझै प्रगाढ बनाउने र द्विपक्षीय हितलाई दृष्टिगत गरी प्रधानमन्त्रीको भ्रमण हुने गरी समन्वय भइरहेको छ ।”
यसअघि प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको विदेश भ्रमण आरम्भ अमेरिकाबाट भएको थियो । उहाँले २०८१ असोज ४ देखि १३ गतेसम्म अमेरिका भ्रमण गरी संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभएको थियो ।
भारत भ्रमणको तयारी विभिन्न चरणमा भए पनि भारत–पाकिस्तान तनाव, पहलगाम हमलासहितका कारणले ढिलाइ भएको हो तर प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच विदेश भ्रमणका क्रममा ‘साइडलाइन’ संवाद हुँदै आएको छ ।