गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ५ गते । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कदा जनमानसमा प्रश्न उठ्ने बताउनुभएको छ । आजदेखि काठमाडौँमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
संवैधानिक मर्यादा र परम्परामा नेपालको संविधानले पूर्व राष्ट्रपतिलाई कुनै राजनीतिक दलको सक्रिय भूमिकाबाट अलग रहने अपेक्षा राखेको बताउँदै उहाँले भन्नुभयो, “उहाँ लामो समयसम्म एमाले पार्टीमा क्रियाशील रहनुभयो । एमालेको उपाध्यक्ष समेत भइसक्नुभएकी उहाँ खासगरी महिला राजनीतिज्ञको प्रभावशाली छवि बनाउनुभयो । उहाँसँग जननेता स्व. मदन भण्डारीको लिगेसी त छ, तर जनताको बहुदलीय जनवाद अनुरूप समाजवादको रोडम्याप तयार गर्ने सामर्थ्यमा प्रश्न उठ्न सक्छ ।”
कानुनी रूपमा निषेध नभए पनि राष्ट्रको प्रमुख पदमा रहिसकेका व्यक्तित्वलाई राजनीतिक निरपेक्षता अपेक्षित हुने नेता चौधरीको भनाइ छ । विश्वव्यापी रूपमा अधिकांश पूर्व राष्ट्रपतिहरू सार्वजनिक जीवनमा रहे पनि सक्रिय राजनीतिक प्रतिस्पर्धामा आएको कम उदाहरण रहेको उहाँले चर्चा गर्नुभयो ।
सङ्घीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता संवैधानिक मूल्यहरू जोगाउनुपर्ने भन्दै उनले अहिलेको गणतन्त्र विरोधीहरू सक्रिय भइरहेको अवस्थामा राजावादी, प्रतिगामी तत्त्वहरूबाट लगातार प्रहार भइरहेको परिप्रेक्ष्यमा पूर्व राष्ट्रपति राजनीतिमा फर्कनु वर्तमान व्यवस्थाप्रति प्रत्युत्पादक हुने उहाँको तर्क छ । भण्डारीको राजनीतिक पुनरागमनले सङ्घीय लोकतान्त्रिक व्यवस्था, वर्तमान संविधान र धर्मनिरपेक्षता विरोधीहरूलाई प्रोत्साहन मिल्ने उहाँको भनाइ छ ।
पछिल्लो समय वर्तमान संविधान, गणतन्त्र, सङ्घीयता, यो अवस्थाले वर्तमान राजनीतिक दलहरूप्रति नयाँ पुस्तामा नैराश्यता, अविश्वास झन बढ्ने बताउँदै उहाँले भन्नुभयो, “पूर्व राष्ट्रपति नेतृत्वमा फर्कनेबित्तिकै राजनीतिमा फर्कनु संवैधानिक, नैतिक र राजनीतिक दृष्टिले अवसर हैन, जटिलता थपिन्छ । एकीकरण सम्भव देखिँदैन ।”
वर्तमान राजनीतिक परिस्थितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प केपी शर्मा रहेको दाबी गर्दै उहाँले ओलीपछिको नेतृत्व कसले लिने, कसरी लिने भन्ने कुरा समयले निर्धारण गर्ने बताउनुभयो । पार्टीलाई एकताबद्ध र समृद्ध बनाउन सबै एक ठाउँमा उभिएर नेतृत्वबाट अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।