काठमाडौँ, साउन ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध सङ्गीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताउनुभएको छ ।
अरूण मगरको २६औँ स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान एवम् बृहत् सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृति कुनै निर्जीव वस्तु नभई जीवनको आधार र समाजको प्राण तत्व भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “संस्कृति भित्र प्राण छ । हामी खुला सङ्ग्रहालयका रूपमा बाँचिरहेका छौं। हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन् तर यही विविधता हाम्रो शक्ति हो ।”
मन्त्री पाण्डेले नेपालमा हाल १३१ वटा भाषाहरू बोलिने जनाउँदै अझै थप भाषा सूचीमा आउने उल्लेख गर्नुभयो । उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत हुन १०५ निवेदन प्राप्त भइसकेका छन् ।
“हामी अतिथि देवो भवः भन्ने संस्कारमा विश्वास राख्छौँ । अभौतिक सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउँदै आगामी दिशा तय गर्दैछौं,” मन्त्री पाण्डेले भन्नुभयो ।
देउडा, कौणा र विभिन्न जातीय नृत्यहरूलाई अब मुलधारको पहिचानमा ल्याउन थालिएको मन्त्री पाण्डेको भनाइ थियो । उहाँले संस्कृति सम्बन्धी नीति अगाडि बढिरहेको र नीति पारित भएपछि अभौतिक सम्पदाहरूले औपचारिक मान्यता पाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मगर समुदायको संस्कृतिमा योगदान पुर्याउनुभएका प्रेमबहादुर थापालाई विशेष रूपमा सम्मान गरिएको थियो ।