गुणबहादुर रोका
सुलीकोट, साउन ४ गते । गोरखामा पर्यटक आकर्षित गर्न बेनीखोलामा कृत्रिम ताल निर्माण गरिएको छ । गोरखा नगरपालिका–३, नारेश्वरको बेनीखोलामा पर्यटकिय आकर्षणको केन्द्रविन्दु बनाई स्थानीय समुदायको आयआर्जनमा वृद्धि गराउन ताल निर्माण गरिएको हो ।
गोरखा नगरपालिकामा रहेको ३२ रोपनी जग्गामा ७० लाख रुपियाँ लगानीमा सिँचाइ मत्स्यपालन पर्यटन मार्फत स्थानीय समुदायको आर्यआर्जनमा वृद्धि गर्ने उदेश्यका साथ ताल निर्माण गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेनी खोलाको सरकारी जमिनमा ड्याम थुनेर ताल निर्माण गर्दै ३२ रोपनी क्षेत्रफलमा ९३ मिटर चौडाई र २१३ मिटर लम्बाई रहेको ताल निर्माण गरी त्यसबाट नगरपालिका र स्थानिय कुमाल समुदायको आयआर्जनमा बृद्धि गराउनका लागि होमस्टे सञ्चालनको तयारी पनि भइरहेको छ ।
गोरखा पर्यटकको आर्कषणकाे केन्द्रबिन्दु भएकाले पनि गोरखा आएर पर्यटकहरू तालमा डुङ्गा चढेर स्थानीय रूपमा उत्पादन भएका रैथाने परिकारहरू खाएर आन्नद लिनका लागि पनि बेनी खोलामा ताल निर्माण गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।
आगमी चैत महिनासम्म सम्पन्न हुने गरी तालमा आवश्यक डुङ्गा, र गार्डेन बनाएर स्वीमङ पुल निर्माणको काम पनि तिब्र रूपमा अघि बढिरहेको गोरखा नगरपालिका–३ का वडाध्यक्ष चुलबहादर कुँवरले बताउनुभयो । तालमा झण्डै १७ हजार माछाको भुरा हाल्ने तयारी भइरहेको छ ।
ताललाई थप व्यवस्थित गर्नको लागि गोरखा नगरपालिकाबाट आर्थिक वर्ष २०८२-०८३ का लागि ३० लाख रुपियाँ बजेट विनियोजन भएको गोरखा नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत एकदेव खनालको भनाइ छ ।
बेनी खोलामा ताल बनाउनका लागि गोरखा नगरपालिकाको केही बजेट मात्र आवश्यक छ, नगर प्रमुख रानाले भन्नुभयो, ‘ताल निर्माण गर्दै जाँदा तालबाट निस्कने ग्राबेल बिक्री गरी ७० लाख रुपियाँको बेचबिखन भइसकेकाले अझै केही लाखको ग्राबेल बेचेर आर्कषण पर्यटकिय ताल बनाउने उहाँले बताउनुभयो ।’
ताल निर्माण समपन्न भएपछि स्थानीय तथा बाह्रय पर्यटकहरू दरौदी नदीको बेनीखोलामा तालमा डुङ्गा चढेर सयर गर्न र स्थानिय परिकारहरूको स्वाद चाख्न पर्यटकहरूको ओइरो लाग्ने घुइचो लाग्ने नगरपालिकाको विश्वास छ ।