• ५ साउन २०८२, सोमबार

देवघाटधाममा बोलबम मेला सुरु

blog

देवघाटमा लागेको भक्तजनको भीड । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, साउन ५ गते ।
तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाटधाममा देवघाट क्षेत्र विकास समितिको आयोजनामा बोलबम मेला सुरु भएको छ । मेला भर्न यहाँ सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

मेलामा भक्तहरू देवघाटमा स्नान गरी शिवालयमा गाईको दुध तथा जल चढाउने तथा शिवको आराधना गर्ने गरिन्छ । साउन महिनालाई शिवको प्रिय महिना मानिने भएकाले मेलाको आयोजना गरिएको समितिले जनाएको छ ।

साउन महिनाभरिमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो ।

सोमबार अधिक भक्तजन आएका छन् । भक्तजनको भीडलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । यसवर्ष साउन महिनाभर देवघाट आउने भक्तजनको तथ्याङ्क सङ्कलन भइरहेको बरालले जानकारी दिनुभयो । हरेक वर्ष साउनमा बोलबम मेला गर्दै आएको समितिले जनाएको छ । साउनमा अधिक वर्षा हुने भएकाले त्रिशुली र कालीगण्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवनतर्फ सुरक्षा सतर्कता बढाइएको बरालले जानकारी दिनुभयो ।


साउन महिनामा स्नान गरी व्रत बसेर देवघाटको जल र बेलपत्रले शिवको पूजाआराधना गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।
सोमबार व्रतका लागि आइतबार रातभर जाग्राम बस्ने भक्तजनहरु धेरै हुने भएकाले नदी  किनारमा बिजुली बत्तीको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाका लागि डोरीसहितको दुई वटा डुङ्गाको व्यवस्था गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार मेलामा आउने भक्तजनको सुरक्षाका लागि साउन महिनाभर इलाका प्रहरी कार्यालय देवघाट, तनहुँमा प्रहरी जनशक्ति थप गर्ने तथा चितवनतर्फ पनि सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालय चितवन समक्ष अनुरोध गरी व्यवस्थापन गरिएको छ ।

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश विदेशबाट हजारौं भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेकाले भक्तजनको भीड लाग्ने गर्दछ ।  

साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यहाँगरी जिल्लामा विभिन्न शिवालयमा भक्तजनको भीडा  लागेको छ । दमौलीस्थित मादी र सेतीनदीको सङ्गमस्थल व्यास–पराशर क्षेत्र र शिवालयमा भक्तजनको भीड लागेको छ । सोमबार बिहानदेखि नै नदीमा स्नान गर्ने शिव मन्दिरमा पूजा गर्ने भीड लागेको व्यास अन्नक्षेत्रका संरक्षक शान्तिस्वरूपानन्द दामोदर बाबाले जानकारी दिनुभयो ।


यसैगरी वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानको आयोजनमा व्यासगुफा परिसरमा सञ्चालन भइरहेको अखण्ड हवनमा भक्तजनको भीड लागेको छ हवनबाट गुरुदोष, पितृदोष, कुलदोष, कालसर्प दोष, ग्रहदोष, अकाल मृत्यु तथा सम्पूर्ण कर्मदोषहरूबाट मुक्ति/निवारण हुने विश्वासमा भक्तजनहरुको भीड लागेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार करिब पाँच सय भक्तजनहरु दैनिक आइरहेकोमा सोमबार बढेकाले आठ सय पुग्ने अनुमान गरिएको छ । वेदव्यासको पुण्यभूमिमा यस प्रकारको धार्मिक अनुष्ठानले वैदिक सनातन संस्कृतिको प्रचार–प्रसारमा टेवा पुग्ने उद्देश्यले हवनको आयोजना गरिएको राष्ट्रिय अध्यक्ष एवम् ध्यानाचार्य खेमराज अधिकारीले बताउनुभयो ।

चार वेद अठार पुराणका रचयिता भगवान वेदव्यासको जन्मभूमि महर्षि ऋषिको तपोभूमिलाई प्रचार प्रसार गर्न हवनले टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । प्रतिष्ठान व्यास गुफा परिशरमा ३३ फुट अग्लो व्यासको मूर्ति बनाउने कार्य अघि बढाएको छ । प्रतिष्ठानले गुफा परिसरमै अखण्ड मण्डव निर्माण गरेको छ ।