• ११ मंसिर २०८१, मङ्गलबार

अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा

blog

काठमाडौँ, असार २९ गते  । अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सुरु भएको छ । सामाजिक सुरक्षा कोष र फेदीखोला गाउँपालिकाबिच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोगारका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि अनुसार लिखित सम्झौता भएसँगै औपचारिक रूपमा अनौपचारिक क्षेत्र तथा स्वरोजगारका क्षेत्रमा कार्यरत श्रमिक कोषमा आबद्धता हुन सुरु भएको हो ।

कोषले ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ अनुसार वैशाख १ देखि कार्यान्वयनमा आउनुपर्ने भए पनि करिब तीन महिनापछि आबद्धता सुरु गरिएको जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित एक औपचारिक समारोहबिच कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवाली र गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीबिच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

कोषका सूचना अधिकारी रोहित रेग्मीले सम्झौतामा श्रमिक र स्वरोगार व्यक्तिलाई कोषमा आबद्ध गर्ने, योगदानकर्ताको योगदान रकम सङ्कलन गर्ने र ऐन, नियमावली र कार्यविधिबमोजिम सरकारका तर्फबाट सहयोगदान गर्ने सम्बन्धमा दुई पक्षबिच समझदारी भएको जानकारी दिनुभयो । 

समझदारीपत्रमा कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिक  आबद्ध गराउने, ती श्रमिकलाई सरकारले तोकेको आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम अर्थात् एक हजार ९१२ रुपियाँ कोषमा योगदान गर्ने व्यवस्था गर्ने तथा जसमध्ये ११ प्रतिशत रकम श्रमिकलाई जम्मा गर्न लाउने र बाँकी ९.३७ प्रतिशत पालिकाले जम्मा गरिदिनेलगायतको व्यवस्था छन् । कोषले कोषमा आबद्ध भएका श्रमिकलाई कार्यविधिले तोके अनुसार सेवासुविधा उपलब्ध गराउनेलगायतका विषय उल्लेख गरिएको छ । कोषका कार्यकारी निर्देशक ज्ञवालीले कोषले आठदेखि १० पालिकालाई प्रस्ताव गरे पनि पहिलो चरणमा फेदीखोला गाउँपालिका सम्झौता गरिएको बताउनुभयो । स्वरोजगार श्रमिकको हकमा भने न्यूनतम परिश्रमिकको ३१ प्रतिशतदेखि तीन गुणासम्म कोषमा योगदान गरी कार्यविधि अनुसारको सुविधा लिन पाउने व्यवस्था रहेको छ । 

कार्यविधिमा नियमित योगदान गर्ने योगदानकर्ताले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित तथा वृद्धावस्था सुरक्षा योजनाबाट सेवासमेत पाउने छन् । 

यसैबिच स्याङ्जा समाचारदाताका अनुसार फेदीखोला गाउँपालिका अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गर्ने देशकै पहिलो पालिका बनेको छ । तीन वर्षपहिला सार्वजनिक निर्माणको काममा सूचीकृत भएका मजदुरलाई 

‘मजदुर सञ्चित कोष’ मार्फत टेवा पु-याएको फेदीखोला गाउँपालिका पहिलो पटक ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि अनुसार आबद्धता गर्न थालेको हो । 

सो पालिकाका अध्यक्ष घनश्याम सुवेदीले पहिलो चरणमा गाउँपालिकाले सञ्चालन गरेको मजदुर सञ्चित कोषमा आबद्ध ७१४ जना अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भएको बताउनुभयो । यसअघि फेदीखोलाले मजदुर सञ्चित कोषमा मजुदरको १५ प्रतिशत र पालिकाको १५ प्रतिशत गरेर आर्थिक टेवा दिने काम गरेको थियो । 

सरकारले तोेकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत पालिकाले र मजदुरको ११ प्रतिशत गरी २०.३७ प्रतिशत अर्थात् एक हजार ९१२ रुपियाँ सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने छ । 

सामाजिक सुरक्षा कोष आफ्नो पालिकाको सञ्चित कोषभन्दा बृहत् रहेको बताउँदै सुवेदीले यो सरकारको प्रयास मजदुरको सुरक्षाका लागि गरिएको सफल काम भएको बताउनुभयो ।