लमजुङ समाचारदाता
लमजुङ, साउन १४ गते । गण्डकी प्रदेश सरकारले सरकारी कामकाजीको भाषाका रूपमा गुरुङ र मगर भाषालाई मान्यता दिएपछि लमजुङका गुरुङ समुदायले सदरमुकाम बेँसीसहरमा दीपावली गरेर खुसी मनाएका छन् । तमू ह्युला छोंज धीं (गुरुङ राष्ट्रिय परिषद्) लमजुङको आयोजनामा उपस्थित गुरुङ समुदायका अगुवा, युवा तथा विद्यार्थीले सोमबार साँझ बेँसीसहरको भीमसेनस्थान चोकमा जम्मा भएर दीप प्रज्वलन गरी खुसियाली मनाएका हुन् । दीप प्रज्वलनका लागि गण्डकी प्रदेश र प्रदेशको नक्साको सिमानामा मैनबत्ती राखिएको थियो ।
बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, आयोजक संस्थाका अध्यक्ष जीवराज घलेसहितले मैनबत्ती बालेर दीपावलीको सुरुवात गर्नुभएको थियो । बेँसीसहर नगरपालिका प्रमुख अर्यालले गण्डकी प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले संविधानले दिएको अधिकार प्रयोग गर्नु सबैको कर्तव्य र दायित्वसमेत रहेको बताउनुभयो ।
नेपाली भाषा सरह सरकारी कामकाजमा गुरुङ भाषालाई पनि मान्यता दिएको भन्दै गुरुङ समुदायले गण्डकी प्रदेश सभाप्रति धन्यवाद ज्ञापन गरेको छ । संविधानको मर्म अनुसार प्रदेश सरकारले कामकाजी भाषाका रूपमा गुरुङ र मगर भाषालाई मान्यता दिए पनि यसलाई कागजमा मात्रै नभई व्यवहारमा उतार्न गुरुङ समुदायले प्रदेश सरकारलाई आग्रह गरेका छन् । गण्डकी प्रदेश सभाले गत असार २४ गते गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो ।