प्रेमराज सिम्खडा
सुर्खेत, असार २८ गते । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमालेविरूद्ध चौतर्फी घेराबन्दी जारी रहेको बताउनुभएको छ । हरेक विषयसँग जोडेर एमालेलाई बदनाम गराउने देशी विदेशी षड्यान्त्रलाई चिर्न पार्टीसम्बद्ध प्रचार तथा प्रकाशन कमिटीले कार्ययोजना बनाएर जनतामाझ पुर्याउन अनिवार्य रहेको उहाँले चर्चा गर्नुभयो ।
कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयोजित एमाले प्रचार तथा प्रकाशन विभागको चौथो बैठकलाई सम्बाेधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “एमालेसँग सही विचार भए पनि जनतामा पुगेको छैन । सत्य कुरालाई योजनाबद्ध रुपले प्रचारमा लैजान आवश्यक छ ।” उपमहासचिव ज्ञवालीले सार्वभौमसत्ता जनतामा निहित हुने कुरालाई बिर्सेर विदेशीको इसारामा सरकार गठन हुनेगरेको उहाँको भनाइ छ । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले नेपाली जनताको मनमा ठेस पुगेको उहाँले चर्चा गर्नुभयो ।
एमाले परीक्षा दिएर उत्तीर्ण भएको पार्टी भएकाले नयाँ र पुरानो पार्टीसँग तुलना गर्न उपयुक्त नरहेको उहाँको भनाइ छ । एमालेले सुरूवात गरेका योजना र विचार कहिल्यै असफल नभएको उहाँले दाबी गर्नुभयो ।
बैठकमा एमाले सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य यमलाल कँडेल, राजेन्द्र गौतम, गोरखबहादुर वोगटी, केन्द्रीय सदस्य निरज आचार्य, कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाह, प्रचार विभाग सचिव गगन बिष्ट, प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आगामी योजनाका विषयमा धारणा राख्नुभयो । एमाले कर्णाली प्रदेश प्रचार तथा प्रकाशन विभाग र प्रेस चौतारीले पढाइ, कमाइ र दबाईमा जोड दिएको छ ।