• ९ साउन २०८१, बुधबार

साउदीमा अनलाइनमार्फत गुनासो टिपाउन मिल्ने

blog

काठमाडौँ, असार २७ गते  । साउदीमा रहेको नेपाली दूतावासले अनलाइन प्रणालीमार्फत श्रमिकले सबै खाले समस्या र गुनासा टिपाउन मिल्ने अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ । दूतावासले यही सातादेखि रोजगारीका क्रममा समस्यामा परेकाले सहज रूपमा आफ्ना समस्या राख्न सकून् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो । 

दूतावासका अनुसार यो प्रणाली सञ्चालनमा आएसँगै अब साउदीमा कार्यरतलाई कुनै अप्ठ्यारो भएमा, गुनासो राख्नु परेमा वा दूतावासको सहयोग चाहिएमा अनलाइनमार्फत नै आफ्ना कुरा राख्न सक्छन् । यो व्यवस्थाले पहिले जस्तो दूतावासको कार्यालय नै पुग्नुपर्ने वा फोन गर्नुपर्ने बाध्यता हटेको छ । 

दूतावासमा भौतिक उपस्थित हुनुपर्ने वा फोनबाट समस्या राख्दा फोन नउठ्नेलगायतका समस्या श्रमिकले भोग्दै आएका थिए । अब भने अनलाइनमार्फत श्रमिकले राखेका समस्या तथा गुनासोउपर तत्कालै आवश्यक समन्वय थालिने दूतावासले जनाएको छ । 

दूतावासले समस्या समाधानका लागि के कस्तो पहल र प्रयास गरिरहेको छ भन्ने जानकारी पनि अनलाइनमार्फत नै श्रमिक आफैँले हेर्न सक्ने छन् । आफूले राखेको गुनासोउपर के भइरहेको छ भनेर दूतावासमा सम्पर्क गरिरहन पर्ने बाध्यता पनि यो प्रणालीले हटाएको दूतावासले जनाएको छ ।