यतिखेर नेपाल प्रज्ञा प्रतिष्ठान चर्चामा छ । त्यसो त, प्रतिष्ठान कुनै न कुनै सन्दर्भमा चर्चामा रहेकै हुन्थ्यो । चर्चामा छ । फेरि चर्चामा हुनेछ । यस पटक प्रतिष्ठानको नेतृत्व, गैरकानुनी भनिएको नेतृत्वको नियुक्ति, नेपाली भाषामाथि गरिएको पूर्वाग्रहपूर्ण व्यवहारले प्रतिष्ठान बढी चर्चामा रहेको सुनिन्छ । यस्तै साहित्यिक भ्रमणका लागि दलगत भातृसंस्थालाई स्रोत उपलब्ध गराइएको, अनावश्यक बजेट माग (हेबी सवारी साधन नभएको प्रतिष्ठानले त्यसलाई आवश्यक पर्ने चालकको तलब माग गरेको) गरेको भन्दै प्रतिष्ठान चर्चामा छ । यसैगरी आस्थाका आधारमा कर्मचारी सरुवा, गैरकानुनी जिम्मेवारी प्रदान, अख्तियार दुरुपयोग प्रकरण र अख्तियारका पत्रहरू, अध्ययन अनुसन्धान तथा प्रकाशनलाई ‘पार्टी प्रचार विभाग’ बनाइएको जस्ता विषयले विगत र वर्तमान प्रतिष्ठान चर्चामा थियो र छ । यी विवाद करिब सनातनी प्रकारका छन् । हिजो पनि थिए र आज पनि छन् तर कुन तहमा भन्ने मात्र हो । यस्ता विषयमा आउन सक्ने सोझो उत्तर हुनसक्छ– ‘उसको पालामा गर्न हुने, हामीले गर्न नहुने ?’ यस्तो चर्चाको परिचर्चा गरिरहनुपर्दैन । कतिपय प्राज्ञहरूले लिँदै आएका दोहरो भत्ता कटौती वर्तमान प्रतिष्ठान नेतृत्वको एउटा साहसिक निर्णय थियो । यो निर्णयले पनि प्रतिष्ठान चर्चामा छ तर यस्तो निर्णयको खुला हृदयले प्रशंसा गरिएको छैन ।
प्रतिष्ठानका कतिपय प्राज्ञले ‘नेपाली भाषा’ भन्न छाडेको सुनिन्छ, यो चाहिँ प्रतिष्ठान चर्चामा आउनु केन्द्रीय विषय हो । ती प्राज्ञले नेपाली भाषालाई ‘कामकाजी’ भाषा भन्दा रहेछन् । कथनी मात्र होइन करनीमा पनि नेपाली भाषालाई कुना पार्न खोजिएको भन्दै विभिन्न कोणबाट प्रतिष्ठान चर्चामा छ । नेपाली भाषाको शब्दकोशमाथि प्रहार गरिएको भन्ने घटना सेलाउन नपाउँदै राष्ट्रिय कविता महोत्सवको खारेजीले प्रतिष्ठान चर्चामा छ ।
कवि विधान आचार्य वि.सं. २०२२ सालदेखि थालिएको ‘राष्ट्रिय कविता प्रतियोगिता’ यस वर्ष (२०८०) देखि खारेज गरिएको उल्लेख गर्नुहुन्छ । उहाँ बहुभाषिक कविता महोत्सवको थालनीलाई ‘राष्ट्रिय कविता प्रतियोगिता’को निरन्तरता मान्न तयार हुनुहुन्न । तर बहुभाषिक कविता महोत्सवको थालनीलाई हार्दिकतापूर्वक लिँदै भन्नुहुन्छ, प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा (मार्च २१) बहुभाषिक कविता महोत्सव गर्नु अत्युत्तम र सान्दर्भिक हुनेछ ।’
कवि विधान आचार्य प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । यस्ता मान्यता राख्ने आमनेपाली सर्जकको भावना उपेक्षा गर्नु नेपाली भाषा, साहित्य तथा साहित्यकारको अस्तित्व निषेध गर्नु हो । एउटा नयाँ अभ्यास थालनी गर्दा अर्को स्थापित निरन्तरता भङ्ग गर्नुलाई सिर्जनशील कार्य भन्न सकिँदैन । वाङ्मय÷साहित्यको सन्दर्भमा यस्ता पहल न संरक्षण न संवर्धन हुन सक्छन् । जबकि साहित्य संरक्षण तथा संवर्धन प्रतिष्ठानको अहम् हेतु हो ।
नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा भनेको छ । सबै भाषाहरू जस्तै नेपाली भाषा पनि पहिले राष्ट्रभाषा हो अनि मात्र कामकाजको भाषा हो । त्यसपछि मात्र मातृभाषा हो । राष्ट्रिय कविता प्रतियोगितालाई बहुभाषिक कविता महोत्सव बनाउनु आपत्तिजनक होइन तर यसभित्रको मनसाय आपत्तिजनक देखिन्छ । एउटा विशिष्ट प्रकारको प्रतियोगिता जुन थियो त्यसलाई महोत्सव पनि भनिएकै थियो तर अहिले आएर सबै राष्ट्रभाषामा कविता समावेश गर्नसक्ने गरी प्रावधान परिवर्तन गरिएको छ । यसबाट एउटा परम्पराको थालनी त हुने छ तर अर्को स्थापित परम्पराको उपेक्षा हुन्छ, इतिहास खण्डित पनि हुन्छ ।
प्रतिष्ठानको यस्तो पहलले मात्र अन्य मातृभाषाहरूको अपेक्षित विकास हुने छैन । प्रतिष्ठानको नेतृत्वले भातृभाषालाई राजनीति गर्ने साधन बनाउन हुँदैन । प्रतिष्ठान नेतृत्व मातृभाषाप्रति मनसा, वाचा, कर्मणा प्रतिबद्ध छ भने, प्रतिष्ठानभित्र मातृभाषा विभाग बनाउन सक्नुपर्छ । विभाग मात्र होइन पर्याप्त साधन, स्रोतसहित कतिपय मातृभाषाका वर्ण निर्माणदेखि मातृमाषाका सम्बन्धमा प्राज्ञिक अध्ययन अनुसन्धान गर्नुपर्छ । नेपालले भाषा प्रतिष्ठान बनाउन सक्छ । त्यसका लागि वर्तमान प्रतिष्ठानले अग्रसरता लिनुपर्छ । नेपालका सबै मातृभाषालाई सम्मान गर्ने उदारताबाट कोही पनि खुम्चनु हुँदैन तर नेपाली भाषाको मानमर्दन गरेर अन्य राष्ट्रभाषाको प्रवर्धन हुन सक्दैन भन्नेमा स्पष्ट हुनुपर्छ ।
‘मातृभाषा’ होइन सबै ‘राष्ट्रभाषा’ मा कविता महोत्सव गरेको भए हुन्थ्यो । मातृ भनेर कम महìवको देखाउन खोजिएको होइन तर कुसुण्डा भाषा ‘भातृभाषा’ मात्र होइन नेपालको ‘राष्ट्रभाषा’ हो । प्रतिष्ठान नेतृत्वले अझै पनि हाम्रा सबै भाषालाई ‘राष्ट्रभाषा’ भन्ने छाती चौडा पारेको देखिँदैन । कविता महोत्सव सम्बन्धमा जारी सूचनाको पहिलो नम्बरमा ‘यस पटकदेखि कविता महोत्सव प्रतियोगितात्मक परम्पराको सट्टा समावेशी सहभागितामूलक बनाइएको छ’ भनिएको छ तर नेपालमा रहेका १२३ राष्ट्र÷मातृभाषामध्ये कति भाषाका कविता महोत्सवमा प्रतियोगीका रूपमा आएमा समावेशी भएको मानिन्छ ? मातृभाषाका विम्ब, प्रतीक उदाहरण, मूल्यमान्यता अन्य भाषामा अनुवाद हुन सक्दैनन् ।
यसर्थ कतिपय विद्वान्हरू कविताको अनुवाद हुन सक्दैन भन्छन् । तिहार र मखमलीको अनुवाद तिहार एन्ड भेल्भेट फ्लावर भनेर मात्र हुन सक्दैन । भाइ अपहरण गर्न आएका यमराजलाई मखमली फूल नसुकेसम्म भाइलाई लैजान नपाउने भनी दिदी यमुनाले यमराजलाई गराएको वाचाकसम र कहिल्यै नओइलाउने मखमलीको सांस्कृतिक प्रतीक वा उपमालाई कुन विद्वानले अनुवाद गर्न सक्छ ? कविता शब्दमा लेखिँदैन ।
अनुभूति, शब्दचित्र वा विम्बमा लेखिने कविताको यसर्थ अनुवाद हुनसक्दैन । राष्ट्र÷मातृभाषामा कविता महोत्सव गर्ने नै हो भने त्यस्ता कविताको मूल्याङ्कन नेपाली भाषामा अनुवाद गरेर गर्नु हुँदैन, सम्बद्ध राष्ट्र÷मातृभाषाबाटै मूल्याङ्कन गरिनुपर्छ ।
सूचना नं. ३ मा ‘भातृभाषामा पठाइएका कविता अनिवार्य रूपमा ‘नेपाली’मा अनुवादसहित पठाउनु पर्नेछ’ भनिएको छ ‘नेपाली’ भनेको के हो यहाँको जनता हो कि ? नेपाली माटो, नेपाली संस्कृति भनेर नछुट्याएसम्म ‘नेपाली’ ले जनतालाई बुझाउँछ । यसलाई सामान्य कमजोरी किन भन्न सकिन्न भने यसले नेपाली भाषामाथि गरिएको पूर्वाग्रहपूर्ण व्यवहारको रिफ्लेक्सन गर्दछ । नेपालीलाई कामकाजी भाषा भनिएको सन्दर्भमा ‘नेपाली’ मात्र भनिएको हुन सक्छ । नेपाली भाषामातृ, राष्ट्र वा कामकाजी कुन भाषा हो भन्ने प्रश्नको उत्तरमा यो सूचना स्पष्ट बोल्दैन, बरु पूर्वाग्रह ओकल्छ ।
विगतमा राज्यले सबै भाषालाई न्यायसङ्गत समान संरक्षण गर्न नसकेको एउटा एथार्थ हामीसँग छ । यसका विरुद्ध हर क्षेत्रमा समावेशिता र सहअस्तित्वका लागि नेपाली जनताले ठुलाठुला आन्दोलन गर्नुपरेको पनि हो । सबै भाषा, संस्कृृतिको समुच्च रूप नै नेपाल हो भन्ने विशाल हृदय बनाउनु अहिलेको आवश्यकता हो । हिजो भएका गल्तीलाई आजको प्रतिशोधले सुधार्न सकिँदैन । न त प्रतिरोधले । बरु आजको सहिष्णुताले भोलिका लागि सम्मानको परम्परा बसाउन सन्छ । जिम्मेवारीमा बस्नेहरू यसनिम्ति संवेदनशील हुनुपर्छ । प्रचलित संविधान, कानुन प्रचलन परिपालनामा उनीहरू चुक्नु हुँदैन । पदीय शपथ किन लिइएको हो भन्ने पनि बिर्सन हुँदैन । ‘प्रचलित कानुनको अधीनमा रही, कसैको डर नमानी, पक्षपात नगरी, कसैप्रति पूर्वाग्रह वा खराब भावना नलिई, इमानदारी साथ काम गर्नेछु’ भनेर लिइएको शपथविरुद्ध कुनै पनि पक्षले आफूलाई पक्षपात गरिएको महसुस गर्नुपर्ने वातावरण बन्नु, बनाउनुहुँदैन ।
तर प्रतिष्ठान आफैँमा निरीह छ । सबै यसबाट आशा गर्न सकिँदैन । पर्याप्त साधन स्रोतको अभाव छ । झन्डै १२३ भाषाको संरक्षण गर्नुपर्ने प्रतिष्ठानलाई यसनिम्ति कति बजेट विनियोजित हुन्छ ? राज्यले प्रतिष्ठान, भाषा, साहित्यलाई महìवको कुन सिँढीमा राखेको छ भनेर पनि समीक्षा गर्नुपर्छ । तर जे जति स्रोत र जिम्मेवारी प्रतिष्ठानलाई प्राप्त हुन्छन् त्यसको न्यायोचित परिचालन होस् भन्ने कामनालाई अन्यथा भन्न मिल्दैन ।
प्रतिष्ठानको लेखनाथ कक्षमा दायित्व वाङ्मयको २४ औँ वार्षिकोत्सव तथा स्रष्टा सम्मान÷पुरस्कार कार्यव्रmमलाई सम्बोधन (२०८० जेठ १३ गते) गर्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘जनस्तरबाट दिनहुँ स्रष्टाहरू सम्मानित भइरहेका हुन्छन् तर सरकार र प्रतिष्ठान के गर्दै छन् भन्ने प्रश्न सोध्नुभयो, कि यो घर भाडा उठाएर मात्र त बस्छ ?’ यो एक व्यक्तिको सामान्य अनुभव तथा अनुभूति हुनसक्छ तर यस्ता प्रश्नभित्र गम्भीर बहसका विषय अन्तर्निहित छन् । कस्तो हुनुपर्छ प्रतिष्ठान, कस्ता हुनुपर्छ प्राज्ञ, कस्तो प्राथमिकतामा पर्नुुपर्छ प्रतिष्ठान ? धेरै सन्दर्भ सङ्केत गर्नुभएको छ पूर्वप्रधानन्यायधीश श्रेष्ठले । प्रतिष्ठान प्रतिष्ठान जस्तो छैन, प्राज्ञ प्राज्ञजस्ता छैनन् भने यसको प्रतिष्ठा कसरी जोगिन्छ त ? यसको पहिलो जबाफ प्रतिष्ठान सम्बद्ध पक्षले दिनुपर्छ, त्यो पनि मौखिक होइन व्यवहारतः ।