• १२ साउन २०८१, शनिबार

कार्तिक र कियाराका ‘सत्यप्रेम’

blog

काठमाडौँ, असार २३ गते । अहमदाबादमा बस्ने सत्यप्रेम (कार्तिक आर्यन) असफलताका कारण आफ्नो पढाइ पूरा गर्न सक्दैनन्। उनी बेरोजगार छन्। सत्यप्रेम र उनका बुवा, आमा र बहिनीको कमाइमा दैनिकी चलाइरहेका हुन्छन्। सत्यप्रेम कथा (कियारा आडवाणी) एकतर्फी प्रेममा हुन्छन्, जो धनी बुवाकी छोरी हुन् र उनको प्रेमी पनि छ। कथाले एक दिन आत्महत्या गर्न खोज्छिन् तर सत्यप्रेमले उनलाई बचाउँछन्। यसबाट प्रभावित भएर उनका बुवाले सत्यप्रेमसँग कथाको विवाह गराउँछन्, जबकि कथा यस विवाहको विरुद्धमा हुन्छिन्। कथा किन आत्महत्याको प्रयास गर्छिन् ? श्रीमान्बाट किन टाढा रहन खोज्छिन् ? यही प्रश्नको जवाफ खोज्न मै रुमलिएको छ चलचित्र। 

चलचित्रलाई करण श्रीकान्त शर्माले लेख्नुभएको हो। चलचित्र हेर्दा मनमा धेरै प्रश्न उठ्छन्। सत्यप्रेमले किन सोध्दैनन् कथाले विवाहअघि आत्महत्याको प्रयास किन गरिन् भनेर ? रमाइलो कुरा के छ भने बिहे गरेको महिनौँपछि उनले यो प्रश्न सोध्छन्। बेरोजगार केटासँग बिहे गर्न किन राजी हुन्छिन् त कथा ? कथाका बुवाले किन छोरीको सत्यप्रेम जस्ता निम्न मध्यम वर्गीय र बेरोजगार केटासँग विवाह गराउँछन् ? यीमध्ये केही प्रश्नको जवाफ चलचित्रको अन्त्यमा दिइन्छ। चलचित्रलाई साङ्गीतिक विधामा राखिए पनि कथामा भने केही गम्भीर विषयको पनि उठान गरिएको छ। मान्छेको सम्बन्धमा सहमति कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुराको चलचित्रमा चर्चा भएको छ। मराठी चलचित्रहरू निर्देशन गर्नुभएका समीर विद्वान्सको निर्देशकीय पक्ष खास दमदार छैन। विशेष गरी चलचित्रको पहिलो हाफ सुस्त छ। कथाको रहस्य खुल्दा चलचित्रले अन्तरालपछि अलिकति गति लिन्छ। अनावश्यक दृश्यहरू हटाएर चलचित्रको समय २० देखि २५ मिनेटसम्म पनि घटाउन सकिन्थ्यो तर निर्देशकले यसलाई उपयुक्त ठानेनन्। चलचित्रका मुख्य पात्र कार्तिक आर्यनको अभिनयमा अक्षय कुमारको प्रभाव देखिन्छ। चलचित्रमा उनले केही दृश्यमा राम्रो र केहीमा औसत अभिनय गर्नुभएको छ। हास्य विधामा उहाँ जम्नु भए पनि उहाँले बोल्ने संवाद फितलो छ। नायिका कियारा आडवाणीको अभिनय औसतभन्दा माथि छ। गजराज राव, सुप्रिया पाठक र शिखा तलसानियाको अभिनय उत्कृष्ट छ। राजपाल यादव पनि सानो भूमिकामा देखिनुभएको छ र उहाँलाई त्यो भूमिका सुहाएको छ। 

चलचित्रलाई जोगाएको भनेकै सङ्गीतले नै हो। अधिकांश गीत कर्णप्रिय छन्। चलचित्रमा भित्र सुपरहिट पाकिस्तानी गीत पसुरीको रिमेक पनि छ। चलचित्रको ब्याकग्राउन्ड म्युजिक र आयनाका बोसको छायाङ्कन उत्कृष्ट छ। चारुश्री रोयको सम्पादनमा खासै नौलो कुरा भेटिँदैन। समग्रमा भन्नुपर्दा सत्यप्रेमकी कथा धेरै ट्विस्टका साथै उत्कृष्ट सन्देशसहितको एक संवेदनशील प्रेमकथा चलचित्र हो। सत्य बोल्न कहिल्यै डराउनु हुँदैन र कसैलाई दुःख दिनुहुँदैन र उनीहरूको पीडा हटाउने प्रयास गर्नु पर्छ भन्ने चलचित्रको सन्देश छ। चलचित्रको कथा खासै नौलो नभए पनि चलचित्रले भरपुर मनोरञ्जन भने अवश्य गराउँछ।