• १५ चैत २०८०, बिहिबार

‘ज्येष्ठ नागरिकको संरक्षण आवश्यक छ’

blog

कार्यक्रममा सम्मानित हुँदै ज्येष्ठ नागरिक । तस्बिर : विन्दु थापा

बिन्दु थापा 

पाल्पा, असार २१ गते । ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गए पनि पछिल्लो समय ज्येष्ठ नागरिक घरपरिवार र समाजबाट एक्लिँदै गएकाले युवा जनचेतनाका कार्यक्रम आवश्यक रहेको सरोकारवालाले बताउनुभएको छ  । तानसेन नगरपालिका –११ मा आयोजित कार्यक्रममा उहाँहरूले सो कुरा बताउनुभएको हो । 

तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा सिँजालीले आफ्ना सन्तानले समेत राम्रोसित पालनपोषण नगर्ने,  अलपत्र पार्ने र वृद्धाश्रममा लगेर छोडिदिने क्रम बढेकाले अब यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।  

तानसेन नगरपालिका –११ ले ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वडाका अध्यक्ष यादवसिंह कार्कीले ज्येष्ठ नागरिकमा ठुलो अनुभव रहेकाले उहाँहरूको अनुभव युवापुस्तामा लैजान जरुरी रहेको बताउनुभयो । कार्कीले भन्नुभयो “यसका लागि अन्तरपुस्ता छलफल गर्नु आवश्यक छ ।” 

तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्दै उहाँहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । अहिले जुन अवस्थामा छौ त्यो सबै अभिभावकको देन भएकाले उहाँहरूले हेलाले होइन, मायाले संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । 

तानसेन नगरपालिका ११ मा मात्रै २२८ जना ज्येष्ठ नागरिकले वडा कार्यालयबाट सुरक्षा भत्ता लिँदै आउनुभएको छ । पेन्सन पाउने तर भत्ता नपाउने ज्येष्ठ नागरिक पनि करिब दुईसय रहेको वडा कार्यालयले जनाएको छ । 

त्यसमध्ये ८५ उमेरमाथिका ४० जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयले पाल्पाली ढाकाको पछ्यौरा र सम्मानपत्रले सम्मान गरेको छ । सम्मानित हुनुभएकी विष्णुकुमारी गोदारले वडाले पहिलोपटक यसरी सम्मान गर्दा खुसी लागेको बताउनुभयो ।