• १० पुस २०८२, बिहिबार

केराबारी गाउँपालिका बन्यो करदाता सेवा दिने पहिलो स्थानीय तह

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, पुस १० गते । मोरङको केराबारी गाउँपालिका साबिकको करदाता सेवा कार्यालयले सेवा दिने पहिलो स्थानीय तह बनेको छ । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गर्नुभयो । 

त्यस अवसरमा उहाँले प्रशासनिक सङ्घीयतासँगै वित्तीय सङ्घीयतालाई संस्थागत गर्दै लानुपर्नेमा जोड दिनुभयो । मन्त्री खनालले जेनजी विद्रोहपछि प्रणालीगत सुधार सुरु भएको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको पहिलो काम भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “आन्तरिक राजस्व कार्यालयबाट दिने सेवा गाउँपालिकाबाट सुरुवात भएको छ । यो वित्तीय सङ्घीयतामा सुधारको एउटा खुड्किलो मात्र हो । अब स्थानीय करदातालाई प्रोत्साहन गर्ने, पानमा सहभागी गराउने, कर शिक्षा दिनेलगायतका थुप्रै काम गर्नु पर्छ ।” 

मन्त्री खनालले प्रशासनिक सङ्घीयतामा अझै सुधार नभएको बताउँदै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृत नपाएको, बेलै नभई सरुवा भएको लगायतका समस्या लिएर आउने गरेको सुनाउनुभयो । 

मन्त्री खनालले गाउँ गाउँमा करदाता सेवा सुरु भएपछि करदाताको लागत, समय र झन्झट घट्ने बताउनुभयो । यो सेवा क्रमशः देशभर सुरु हुने बताउँदै उहाँले केराबारी गाउँपालिका देशकै भाग्यमानी गाउँपालिका भएको उल्लेख गर्नुभयो । 

मन्त्री खनालले कर सेवा शुभारम्भ गर्दै दी भ्वाइस क्याफे एन्ड रेस्ट्रोका सञ्चालक पवित्रा खवासलाई व्यावसायिक प्रमाणपत्र र चित्रकुमार तामाङलाई पाना नम्बरको प्रमाणपत्र प्रदान गर्नुभयो । 

केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ (मगर) को अध्यक्षतामा भएको कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीलगायतले बोल्नुभएको थियो ।