काठमाडौं, असार २१ गते । नेपाली कांग्रेसको जिल्ला सभापतिको बैठक जारी रहेको छ । बिहीबार सानेपास्थित बीपी स्मृति भवन, केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको बैठक जारी रहेको काठमाडौं जिल्ला सभापति सबुज बानियाँले जानकारी दिनुभयो ।
बैठकमा कांग्रेसको क्रियाशील सदस्यता वितरण सम्बन्धमा नयाँ ढङ्गले जाने तयारीका साथ छलफल भइरहेको सभापति बानियाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बैठकमा क्रियाशील सदस्यताको सम्बन्धमा नयाँ फर्मेट बन्दैछ, भन्ने छ । राजनीतिक पार्टीको जिल्ला सभापतिबाट केही सल्लाह, सुझाव र क्रियाशील सदस्यता वितरण सम्बन्धमा नयाँ तयारीका साथ जानुपर्ने भएको हुनाले जिल्लाको अवस्था र वस्तुस्थिति के छ भन्ने विषयमा छलफल हुने छ ।’’
यसबाहेक वर्तमान परिवेशको राजनीतिक मुद्दा, राष्ट्रिय सवाल, पार्टीको आन्तरिक विषय लगायत असार २७ गते बस्न लागिरहेको केन्द्रीय समितिको बैठकबारे सामान्य छलफल हुने उहाँले बताउनुभयो ।
बैठकमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा लगायतका पदाधिकारी एवम् केन्द्रीय कार्य समितिका सदस्यहरु सहभागी हुनुभएको छ ।