काठमाडौं, असार २१ गते । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा कल्पना गर्न पनि नसकिने बताउनुभएको छ ।
बिहीबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्ने र भावनात्मक विषयवस्तुलाई अर्कै प्रसङ्गमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको बताउनुभयो । उहाँले बाहिरको विषयवस्तुलाई संसदमा ल्याएर एकैपटक प्रधानमन्त्रीको राजीनामा माग्नु नौलो कुरा भएको बताउनुभयो ।
‘‘प्रधानमन्त्रीज्यूले राजीनामा गर्नुपर्छ भन्नेकुरा आयो, त्यो त कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको हो भन्नेबारेमा प्रधानमन्त्रीज्यूले संसदमा आफ्ना विषयवस्तु राखिहाल्नुहुन्छ । यो एउटा भावनात्मक विषयवस्तु कतै अर्कै प्रसङ्गमा व्यक्तिगत कुरा त्यो पनि धेरै वर्ष पहिलाको कुरा ल्याएर जसरी गरियो, यो बेठिक कुरा हो ।,’’ प्रमुख सचेक पाण्डेले भन्नुभयो, ‘‘सदनमा प्रधानमन्त्रीले आफ्ना कुरा राख्ने, प्रधानमन्त्रीले के भन्नुभएको थियो भन्ने विषयवस्तु नआईकन एउटा कहीँ भएको विषयवस्तुलाई एकै पटक संसदमा ल्याएर राजीनामा माग्ने अनौठो कुरा भयो । यसबारेमा प्रधानमन्त्रीले बोल्ने संसदमा, प्रधानमन्त्रीले संसदमा बोल्न नपाउने भए कसले पाउने हो ।’’
प्रमुख सचेतक पाण्डेले प्रधानमन्त्रीले संसदमा आफ्ना कुरा राख्न नपाउने भए कसले पाउने हो ? भन्दै प्रश्न गर्नुभयो ।