काठमाडौं असार २१ गते । नेपाल आर्मी प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । आर्मी पुरुष/महिला दुवैमा च्याम्पियन बनेको हो ।
नेपाल बक्सिङ संघको तत्वावधानमा बूढानीलकण्ठ नगरपालिका र अखिल नेपाल खेलकुद संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा आर्मी ६ स्वर्ण, पाँच रजत र एक कांस्य पदकसाथ टिम च्याम्पियन बन्यो । महिलामा आर्मीले तीन स्वर्ण, एक रजत र चार कांस्य जित्न सफल भयो ।
बूढानीलकण्ठस्थित गणेश माविमा भएको प्रतियोगिताको पुरुषमा बक्समान्डुका सिंवीर लिम्बू तथा महिलामा जेन एक्सकी स्वस्तिका तिरुवा उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उत्कृष्ट दुवैले जनही ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
विजेतालाई उर्जा, जलश्रोत तथा सिचाईं मन्त्री शक्तिबहादुर बस्नेत, पूर्व मन्त्री विना मगरलगायतले पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगिताको पुरुषमा १३ तथा महिलामा नौ गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।
प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमश: ५० हजार, २५ हजार र १५/१५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।