• १३ मंसिर २०८१, बिहिबार

झरीले स्याउको दाना कम लाग्यो

blog

म्याग्दी समाचारदाता

म्याग्दी, असार २१ गते । मुस्ताङको मुख्य बाली स्याउको उत्पादन यो वर्ष निकै घट्ने देखिएको छ। स्याउको बोटमा कम फल लागेपछि किसान चिन्तित बनेका छन्। मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र मार्फामा रहेको स्याउ बगानमा पनि निकै न्यून मात्रामा स्याउको दाना लागेको छ।

हिउँदमा हिउँ नपर्दा स्याउलाई चाहिने न्यूनतम तापक्रम पुग्न सकेन। जसका कारण यहाँ लगाइएका धेरै चिस्यान चाहिने स्याउका जात राम्रोसँग फुल्न सकेनन् । यसका साथसाथै फूल खेल्ने समयमा लगातार पानी पर्दा राम्रोसँग परागसेचन हुन नपाउँदा फल लागेको छैन। शीतोष्ण बागवानी विकास केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले भन्नुभयो, “स्याउमा राम्रोसँग फूल खेलेको थियो तर त्यही समयमा झन्डै हप्तादेखि १० दिनसम्म झरी पर्दा परागसेचन हुन पाएन। त्यसैले दाना कम लाग्यो।” 

उहाँले भन्नुभयो, “फूल खेलेको समयमा माहुरी, भमरा एवं अन्य किराले फूलको रस लिन आउने समयमा परागसेसन हुन्थ्यो तर बोटमा फूल रहने बेलासम्म पानी परिरह्यो। त्यसले गर्दा परागसेचन हुन पाएन र स्याउको दाना नै राम्रोसँग लाग्नै पाएन।” 

मुख्य रूपमा स्याउमा कम फल लाग्नुको कारण भनेको समयमा हिउँ नपर्नु हो। घरपझोङ गाउँपालिका–५, ढुम्बाका स्याउ खेती गर्ने अगुवा कर्म गुरुङका अनुसार शीतोष्ण हावापानीमा हुने फलफूल जस्तै स्याउका लागि झन्डै एक हजारदेखि एक हजार छ सय घण्टासम्मको चिलिङ आवर चाहिन्छ। त्यसका लागि हिउँ प-यो भने निकै राम्रो हो तर यस वर्ष जुन समयमा हिउँ पर्नुपर्ने हो त्यो समयमा हिउँ नपर्दा उत्पादनमै नकारात्मक असर देखिएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “फूल खेल्ने बेलामा माहुरी आउनै पाएन त कसरी स्याउ फल्छ।” गत वर्ष दुई करोडभन्दा माथि मूल्यको स्याउ बिक्री गर्नुभएका कर्माले यस वर्ष गत वर्षको तुलनामा आधा मात्रै फल लागेको बताउनुहुन्छ। 

पछिल्लो समय हिमालपारिका जिल्ला मुस्ताङमा माहुरीपालन पनि कम हुन थालेकाले पनि परागसेचनको समयमा माहुरी कम हुने गरेको स्थानीयको भनाइ छ। टुकुचेका कृषक निरोज तुलाचनले गत वर्ष ३१ टन स्याउ बिक्री गरेको तर यो वर्ष त्यसको आधा पनि पुग्छ पुग्दैन भन्न सक्ने अवस्था नभएको बताउनुभयो।