• २० असोज २०८१, आइतबार

ताप्लेजुङका पाँच सय परिवार शौचालयविहीन

blog

सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा रहेको सार्वजनिक शौचालय । तस्बिर: चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २१ गते । अहिले पनि ताप्लेजुङका करिब पाँच सय परिवार शौचालयविहीन छन् । तथ्याङ्क कार्यालय पाँचथरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको जिल्लामा उक्त सङ्ख्यामा अझै शौचालयविहीन परिवार रहेका हुन् ।

पाँचथर र ताप्लेजुङ दुवै जिल्ला हेर्ने तथ्याङ्क कार्यालय पाँचथरले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को जिल्लागत प्रतिवेदनअनुसार यहाँ कुल ४९२ परिवारको शौचालय नभएको पाइएको छ । ताप्लेजुङका २७ हजार ७७६ परिवारमध्ये ४९२ परिवारको शौचालय नभएको पाइएको तथ्याङ्क अधिकृत प्रेम नेपालले जानकारी दिनुभयो । ताप्लेजुङलाई सात वर्षअघि २०७३ साल जेठ ३१ गते खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । 

खुला दिसामुक्त क्षेत्र घोषित भइसकेको जिल्लामा सबैभन्दा बढी फक्ताङ्लुङ गाउँपालिकाका ११४ परिवारको शौचालय छैन । त्यसपछि फुङ्लिङ नगरपालिकामा ६४ परिवारको शौचालय नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मिक्वाखोला गाउँपालिकामा ५५ परिवार, सिरिजङ्घा गाउँपालिकाका ५३ परिवार, मेरिङ्देन गाउँपालिकामा ५२ परिवारको शौचालय छैन ।

त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिकामा ५१ परिवार, आठराई त्रिवेणी गाउँपालिकामा ४३ परिवार, मैवाखोला गाउँपालिकामा ३९ परिवारमा र सिदिङ्वा गाउँपालिकामा २१ परिवारको शौचालय नभएको प्रतिवेदन तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ । जिल्लाभरका २० हजार १६६ परिवारको फ्लस भएको सेफ्टीयाङ्कीसहित र २६५ परिवारको फ्लस भएको सार्वजनिक ढलसहितको शौचालय रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । तथ्याङ्कअनुसार छ हजार ७८१ परिवारले भने साधारण शौचालय प्रयोग गर्ने गरेका छन् ।

यता तथ्याङ्क कार्यालयको प्रतिवेदनअनुसार ताप्लेजुङमा ७२ वटा सार्वजनिक शौचालय छन् । उक्त सङ्ख्यामध्ये सिरिजङ्घा गाउँपालिकामा २० वटा, फुङ्लिङ नगरपालिकामा १७ वटा र मैवाखोला गाउँपालिकामा १० वटा सार्वजनिक शौचालय छन् । त्यस्तै पाथीभरा याङ्वरक, सिदिङ्वा र मेरिङ्देन गाउँपालिकामा पाँच–पाँच तथा फक्ताङ्लुङ र मिक्वाखोला गाउँपालिकामा चार–चारवटा सार्वजनिक शौचालय छन् । आठराई त्रिवेणी गाउँपालिकामा भने दुई वटा मात्र सार्वजनिक शौचालय रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।