• १५ मंसिर २०८१, शनिबार

दोलखा जिल्लाको जनसङ्ख्या घट्दो क्रममा

blog

दोलखा समाचारदाता

दोलखा, असार २१ गते । पछिल्लो जनगणनाअनुसार दोलखा जिल्लाको जनसङ्ख्या घटेको छ। २०५८ सालको जनगणनायता दोलखाको जनसङ्ख्या घटिरहेको हो। तथ्याङ्क विभागले दोलखा सदरमुकाम चरीकोटमा सार्वजनिक गरेको विवरण अनुसार २०६८ सालमा दोलखाको जनसङ्ख्या एक लाख ८७ हजार ५५७ रहेकोमा २०७८ सालसम्म आइपुग्दा १३ हजार ७९० घटेर एक लाख ७२ हजार ७६७ रहेको छ। 

२०५८ सालमा दोलखाको जनसङ्ख्या दुई लाख चार हजार २२९ थियो। त्यसको १० वर्षपछि २०६८ सालमा जनगणना गर्दा दोलखाको कुल जनसङ्ख्या एक लाख ८७ हजार २२९ मात्रै देखिएको थियो। २०५८ देखि २०६८ सम्मको १० वर्षको अवधिमा १६ हजार ६७२ जनसङ्ख्या घटेको थियो। २०५८ सालमा दोलखामा जनसङ्ख्या वृद्धि दर १.६५ प्रतिशत रहेको थियो। त्यसपछि भएका दुवै जनगणनामा जनसङ्ख्या घट्दो क्रममा रहेको छ। २०६८ मा ०.९१ प्रतिशतले जनसङ्ख्या घटेकोमा २०७८ मा ०.७४ प्रतिशतले घटेको छ। 

पछिल्लो जनगणना अनुसार दोलखामा ८९ हजार ४७ जना महिला र ८३ हजार ७२० पुरुष रहेका छन्। पुरुषको तुलनामा महिलाको जनसङ्ख्या पाँच हजार ३२७ ले बढी छ। यसअघि २०६८ सालको जनगणनामा पनि पुरुषभन्दा महिलाको सङ्ख्या १२ हजार ५५१ र २०५८ को जनगणनामा चार हजार ३०३ ले बढी थियो। 

जनगणना अनुसार दोलखामा सबैभन्दा बढी भीमेश्वर नगरपालिकाको जनसङ्ख्या ३४ हजार ७१२ र सबैभन्दा कम तामाकोसी गाउँपालिकाको १५ हजार १६३ रहेको छ। यस्तै कालिञ्चोक गाउँपालिकाको २१ हजार ९७ र वैतेश्वरको १७ हजार ८९६ रहेको छ। शैलुङ गाउँपालिकाको १७ हजार ९२३, बिगु गाउँपालिकाको १६ हजार ४९०, जिरी नगरपालिकाको १६ हजार १०९, गौरीशङ्करको १५ हजार ९९५ र मेलुङको १५ हजार ८९३ जनसङ्ख्या रहेको छ।

दोलखामा सबैभन्दा बढी क्षेत्री समुदायको जनसङ्ख्या ५३ हजार ९८७ र तामाङ समुदाय ३० हजार ४६८ जनसङ्ख्यासहित दोस्रो स्थानमा छ। थामी समुदाय १८ हजार ७५, नेवार समुदाय १५ हजार ७३१, ब्राह्मण पहाडी समुदाय १३ हजार १९, शेर्पा समुदाय नौ हजार ४८० र सुनुवार समुदायको 

जनसङ्ख्या एक हजार ९४० रहेको तथ्याङ्कले देखाएको छ। जिल्लामा अल्पसङ्ख्यक जिरेल समुदायको जनसङ्ख्या चार हजार ४९४ र सुरेल समुदायको जनसङ्ख्या १४३ मात्रै रहेको छ। 

दोलखामा ६६.४७ प्रतिशत हिन्दु, २६ प्रतिशत बौद्ध, पाँचदशमलव ३९ किराँत र २.५ प्रतिशत क्रिस्चियन रहेका छन्।