• २१ वैशाख २०८१, शुक्रबार

नागरिकता पाएपछि खुसी

blog

बनेपा समाचारदाता 

काभ्रेपलाञ्चोक, असार २१ गते । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर–७ का २० वर्षीय सुशान श्रेष्ठले बाबुको पहिचान नभएका कारण नेपाली नागरिकता लिनबाट वञ्चित हुनुपरेको थियो। नेपाली नागरिकता नभएकै कारण कक्षा १२ को परीक्षा उत्तीर्ण गरेर पनि शैक्षिक प्रमाणपत्र नपाएपछि उहाँले स्नातक तहको अध्ययन गर्नबाट वञ्चित हुनुप-यो। 

“नागरिकता नभएका कारण मैले १२ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्र लिन सकिन र स्नातक तहको अध्ययन गर्नबाट वञ्चित हुनुप-यो, आमाको नामबाट नागरिकता प्राप्त गर्दा खुसी लागेको छ,” बुधबार नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएका सुशानले भन्नुभयो। नागरिकताको प्रमाणपत्र नभएकै कारण बनेपा नगरपालिका–५ की १९ वर्षीया रिमा कपालीको नर्सिङ अध्ययन गर्ने रहर पूरा हुन सकेन। “नर्सिङ अध्ययन गर्ने ठूलो धोको थियो तर नागरिकता नभएका कारण मैले उक्त विषयको अध्ययन गर्न पाइन, आमाको नामबाट नागरिकता पाएँ, म धेरै खुसी छु,” उहाँले थप्नुभयो। कपालीले पनि बुधबार नै नागरिकताको प्रमाणपत्र लिनुभएको हो।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा पहिलो पटक बुधबार बाबुको पहिचान हुन नसकेका नेपाली आमाबाट जन्मेका नेपाली नागरिकलाई नागरिकता दिन सुरु गरेको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले नेपाल नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) मा भएको व्यवस्था अनुसार जिल्लामा पहिलो पटक तीन जनालाई नेपाली नागरिकता प्रदान गरिएको बताउनुभयो। 

उहाँले बाबुको पहिचान हुन नसकेका नेपाली आमाबाट जन्मेका सुशान, रिमासँगै १७ वर्षीया टिना कपालीलाई आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरिएको बताउनुभयो। कार्यालयले सुशानलाई आमा माइली श्रेष्ठ, रिमा र टिनालाई आमा हीरामाया कपालीको नामबाट नागरिकता प्रदान गरिएको हो। काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले कार्यालयले बुधबारदेखि बाबुको पहिचान नभएका १६ वर्ष उमेर पूरा भएका नेपाली आमाका सन्तानलाई नागरिकता दिने क्रम निरन्तर रूपमा अगाडि बढ्ने बताउनुभयो।