• १२ असार २०८१, बुधबार

विनियोजन विधेयक माथिको छलफल जारी

blog

बागमती प्रदेश सभाको बुधबार बसेको बैठक ।

राममणि दाहाल

हेटौँडा, असार २१ गते । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले बागमती प्रदेश सभा बैठकमा पेस गर्नुभएको विनियोजन विधेयक २०८० माथिको छलफल भइरहेको छ। 

आर्थिक मामिलामन्त्री लामाले सोमबार प्रदेश सभाको बैठकमा पेस गर्नुभएको आव २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि मङ्गलबार र बुधबार पनि छलफल जारी छ।

प्रदेशका मन्त्रालय र निकायको एकमुष्ट रूपमा आगामी आर्थिक वर्षको बजेटमाथि प्रदेश सभा बैठकमा छलफल भएको थियो। छलफलमा सहभागी हुँदै अधिकांश सत्तारूढ दलका प्रदेश सभा सदस्यले प्रदेशका मन्त्रालय र निकायको बजेटप्रति असन्तुष्टि जनाएका छन्।

सत्तारूढ दलकै प्रदेश सभाका सदस्यले बजेट मुख्यमन्त्री र केही मन्त्रीको निर्वाचन क्षेत्र लक्षित गरी बजेट ल्याइएको, भूगोल र जनसङ्ख्याका आधारमा वितरण नभएको भन्दै पहुँचका आधारमा बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाएका हुन्।

प्रदेश सभा सदस्य सुरेशचन्द्र लामिछानेले बजेट राख्ने प्रणाली चिट्ठा जस्तै भएको छ चिट्ठा कसलाई प-यो भन्दा मुख्यमन्त्री, मन्त्री र नजिकका व्यक्तिलाई परेको छ भन्दै अहिलेको टुक्रे योजनाले समृद्धि नआउने विचार व्यक्त गर्नुभयो। 

प्रदेश सभा सदस्य रामकुमार पहाडीले आफू सत्ता पक्षको भए पनि बजेट सन्तुलित र राम्रो छ भन्ने पक्षमा नरहेको बताउँदै केही मन्त्रालयको बजेट नीति तथा कार्यक्रम अनुसार नभएकाले सच्याउन माग गर्नुभयो।

यस्तै प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठले बजेट वितरणमुखी र गन्तव्यहीन भएको भन्दै दिगो आर्थिक विकास गर्नेतर्फ बजेट लक्षित नरहेको बताउनुभयो। प्रदेश सभा सदस्य वसन्तप्रसाद मानन्धरले बजेटमा धेरै त्रुटि र कमजोरी रहेको बताउँदै सन्तुलनको सिद्धान्त अनुसार बजेट आउन नसकेको धारणा राख्नुभयो। प्रदेश सभा सदस्य रमा आले मगरले बजेटमा समविकास र समन्यायिक सिद्धान्त अनुसार नभएको बताउनुभयो। प्रदेश सभा सदस्य मधुसूदन श्रेष्ठले बजेट सङ्घीयताको हुर्मत लिने गरी आएको बताउनुभयो। 

प्रदेश सभा सदस्य शिवराज अधिकारीले बजेटप्रति नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सबैमा असन्तुष्टि रहेको छ यस्तो बजेटले दिगो विकास हुँदैन भन्नुभयो। प्रदेश सभा सदस्य समिता खड्गीले कनिका छरे जस्तो भए पनि बजेट सबैलाई पु-याइएको बताउनुभयो। प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले सबैले बजेट परेन भन्दै छौँ बजेट चाँहि कसलाई प¥यो त भन्ने प्रश्न गर्दै बजेट सन्तुलित नभएको बताउनुभयो।

यसैगरी केशवप्रसाद पोखरेलले सत्ता पक्षका प्रदेश सभा सदस्यलाई नै बजेट चित्त नबुझेको र बहिष्कार गरेको बताउँदै बजेटले समाजलाई अगाडि बढाउने गति पनि छैन र सुशासन दिने मति पनि सरकारमा नरहेको आरोप लगाउनुभयो। 

प्रदेश सभा सदस्य भारतीकुमारी पाठकले बजेट असन्तुलित रहेको, पिछडिएका वर्ग लक्षित नभएको, बजेट व्यक्ति लक्षित भएको, आफ्नो जग्गामा तारबार लगाउन विनियोजन गरिएको बजेट हटाउन माग गर्नुभयो। प्रदेश सभा सदस्य राजेन्द्र प्रजापतिले कार्यकर्ता पोस्ने गरी बजेट आएको बताउनुभयो। यस्तै प्रदेश सभा सदस्य अमनकुमार श्रेष्ठले समाजवाद अर्थतन्त्र भनेको मुख्यमन्त्री र मन्त्रीको क्षेत्रमा मात्र विकास निर्माण गर्नु हो भन्ने प्रश्न गर्दै प्रदेश सरकारलाई बहुमतका नाममा प्रदेशलाई अधोगतितर्फ लैजाने काम नगर्न आग्रह गर्नुभयो। 

यसैगरी, प्रदेश सभा सदस्य उर्मिला सुनुवारले क्षेत्रगत आधारमा सन्तुलित नभएको र दिगो विकास लक्षित नरहेको बताउनुभयो भने कृष्णप्रसाद शर्मा खनालले बजेटमा त्रुटि भएको भन्दै सच्याउन सत्ता पक्ष तयार भएको बताउनुभयो।

प्रदेश सभा सदस्यहरू ज्ञानबहादुर तामाङ, गीता काफ्ले, रत्नप्रसाद ढकाल, प्रकाश श्रेष्ठ, जयराम श्रेष्ठ, कुन्दनराज काफ्ले, श्याम खड्का, नुरज वज्राचार्य, सिर्जना सायजु, कुमारी तामाङ, डा. दिनेशचन्द्र देवकोटालगायतले बजेटका बारेमा धारणा राख्नुभएको थियो।